जनता टाइम्स

२७ आश्विन २०७८, बुधबार ०८:३२

ट्याक्टर दुर्घटनामा एमाले जिल्ला अध्यक्षका छोराको निधन


बैतडी, असोज २७ । बैतडीमा गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका ३ पंसेरा निवासी २३ वर्षीय योगेश पाल रहेका छन् ।

मृतक पाल नेकपा एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालका छोरा हुन् । आफैंले चलाएको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गोकुलेश्वरबाट सतबाझ आउँदै गरेको ट्याक्टर गएराति साढे १२ बजे दोगडाकेदार गाउँपालिका ३ तारलमा दुर्घटना भएको हो । दुर्घटनामा पंसेरा निवासी रुपेश कोली घाइते भएका छन् ।

मृतक पाल दुर्घटनामा गम्भीर घाइते भएपछि उपचारका लागि जिल्ला अस्पताल बैतडी पुर्‍याइएको थियो । अस्पताल पुग्ने बितिक्कै डाक्टरले मृत्यु भएको घोषित गरेका हुन् । दुर्घटनामा घाइते भएका कोलीको अवस्था सामान्य रहेको डाक्टर बसन्तराज जोशीले बताउनु भयो ।

ट्याक्टर सडकभन्दा सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए । घटनाका बिषयमा थप अनुसन्धान भैरहेको छ ।