जनता टाइम्स

२७ आश्विन २०७८, बुधबार १९:३२

पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुग्यो नेपाल


काठमाडौं, असोज २७ । नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । साफको इतिहासमा बुधबार पहिलो पल्ट नेपालले फाइनल यात्रा तय गरेको हो । नेपाललाई फाइनल पुग्न एक अंक चाहिएकोमा बंगलादेशलाई राउन्ड रोबिनको आफ्नो अन्तिम खेलमा १–१ को बराबरीमा रोकेको हो ।

सन् १९९३ देखि सुरु भएको प्रतियोगितामा नेपालले फाइनल पुगेको यो पहिलो पल्ट हो । आजको खेलको ७९ औं मिनेटमा आफ्नो पेनाल्टी एरिया बाहिर बल ह्यान्ड गरेपछि बंगलादेशी गोलरक्षक अनिसुर रहमानलाई सिधै रातो कार्ड देखाइयो र खेल नेपालको पक्षमा मोडियो । यसअघि बंगलादेशले मोहम्मद सुमन रेजाको गोलले अग्रता लिएको थियो ।

यो नतिजापछि नेपालको चार खेलबाट सात अंक भएको छ । बंगलादेश भने चार अंकमै सीमित रह्यो र प्रतियोगिताबाट बाहिरियो । जित अथवा बराबरीमा फाइनल पुग्ने समीकरणमा रहेको नेपालले यो बराबरी नतिजा निकालेको हो । नेपालले माल्दिभ्स र श्रीलंकालाई हराएयता भारतविरुद्धको खेल गुमाएको थियो । फाइनलमा नेपालको प्रतिद्वन्द्वी आजकै दोस्रो खेलले गर्नेछ । त्यस खेलमा आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्स र भारत खेल्दैछन् ।