जनता टाइम्स

२८ आश्विन २०७८, बिहीबार १७:३३

८५ वर्षीया पवित्रा भट्टराईको अनुभुति : रारा पूग्दा स्वर्ग पुगेको महसुस भयो, बाटो हेर्दा साह्रै दुःख लाग्यो


सुर्खेत, असोज २८ । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया पवित्रा भट्टराई पर्यटकका रुपमा रारा पुगेकी छन् । रारा ताल घुमेर फर्केका आफन्त गरेको वयानका आधारमा उनलाई रारा तालले लोभ्याएको हो । भट्टराईले आफन्तले रारा तालको विषयमा गरेको वयानले दुई वर्षअघि घुम्ने रहर जागेको अहिले आएर पूरा भएका बताउनु भयो । ‘रारा ताल त फेवा तालभन्दा राम्रो रहेछ,’ उहाँले भन्नुभयो, ‘जीवनको उत्तर्रार्द्धमा स्वर्ग पुगेको महसुस भयो ।’

खोटाङबाट रारा आउनका लागि उहाँका छोरा विशाल भट्टराईले मिलाउनु भएको थियो । रारा आउनका लागि उहाँलाई खोटाङको दिक्तेतबाट ५ दिनको जिप यात्रा गर्नु परेको थियो । जिपबाट खोटाङ–काठमाडौं–नेपालगन्ज–सुर्खेत हुँदै रारा पुग्नुभएको हो ।

भट्टराई गत हप्ताको शनिबार रारा पुगेर फर्किनुभएको हो । आफूले रारा पुग्दा कर्णालीको रहनसहन रीतिरिवाज र यहाँको खानपानका विषयमा जानकारी लिएको बताउनु भयो । ‘कहाँ सुदूर पूर्वको चलन कहाँ सुदुर कर्णालीको चलन धेरै फरक रहेछ,’ उहाँले भन्नुभयो, ‘जीवनको अन्तिममा आएर यहाँको चलन सिक्ने मौका पाए ।’

रारा जति सुन्दर भए पनि रारा पुग्ने सडकले आफुलाई दुःख लागेको बताउनु भयो । ‘रारा त सुन्दर ताल हो, तर, त्यहाँ पुग्ने सडक हेर्दा देशमा विकास नभएको जस्तो लाग्यो,’ उहाँले भन्नुभयो । कर्णाली राजमार्गमा रहेका खाल्डाखुल्डी कच्ची बाटोले आफूलाई हैरान पारेको उहाँले बताउनु भयो । रारा पुग्नलाई राजमार्गको विस्तार गरिनुपर्ने उहाँको सुझाव छ ।