जनता टाइम्स

३० आश्विन २०७८, शनिबार १३:१५

संकटमा एन्फा अध्यक्ष शेर्पा, यसरी कठिन बन्दैछ आगामी दिन



मनु घिमिरे, काठमाडौं । २०५७ सालमा राजनीतिक हस्तक्षेपमार्फत फुटबलमा प्रवेश गर्नुभएका एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा अध्यक्षको पहिलो कार्यकालमा चौतर्फी घेराबन्दीमा पर्नुभएको छ । फुटबलमा शेर्पाको उपस्थितिलाई नजिकबाट नियाल्नेहरू अबका दिनका उहाँका साथमा कोही पनि रहन नसक्ने आँकलनसमेत गर्न थालेका छन् ।

अहिलेको फुटबल विवादलाई हेर्न वर्तमान अध्यक्ष शेर्पाको यो २१ वर्षे गतिविधिलाई नियाल्नुपर्ने हुन्छ । २०५७ मा तत्कालीन सरकारले गणेश थापाको नेतृत्वमा रहेको फुटबल संघ विघटन गर्दै गीता राणाको अध्यक्षतामा अखिल नेपाल फुटबल संघ पुनर्गठन गरेको थियो । फुटबलको सर्वोच्च निकाय फिफाले यसलाई राजनीतिक हस्तक्षेपभन्दा अस्वीकार गरे पनि विवादले नयाँ रूप लियो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा राष्ट्रिय मान्यताप्राप्त राणा पक्षधरको कार्यालय रहेको थियो भने थापाले पनि अन्यत्र कार्यालय स्थापना गरेर एन्फाका गतिविधि जारी राखे । राणा पक्षधरको अधिवेशनमा टासी घले उम्मेदवार भएर पराजित हुनुपर्यो । सोही समयमा तत्कालीन सदस्य सचिव विनोदशंकर पालिखेले फेरि राणा कमिटीलाई बर्खास्त गर्दै थापालाई अध्यक्षमा स्थापित गराउनु भयो । यसरी राणालाई बर्खास्त गर्दै थापालाई जिम्मेवारी सुम्पनेमा शेर्पा र टासी घलेलगायतको समूहको भूमिका रहेको थियो ।

गणेश थापा फेरि सातदोबाटोको भवनमा प्रवेश त गरे पनि यसपछि उहाँका विरुद्धमा विभिन्न चरणमा आन्दोलन भए । २०६३ मा तत्कालीन खेलकुद परिषद् नेतृत्वको साथ पाउने आसमा विजय मानन्धर, इन्द्रमान तुलाधर, राजेन्द्र न्यौपानेलगायतले आन्दोलन गर्नुभयो । यो आन्दोलन पदीय भागबन्डा र सम्झौतामा टुंगिएको थियो ।

७० को दशकमा फेरि थापाको विरुद्धमा आन्दोलन भयो । यसपटक कर्माछिरिङ शेर्पा पंकज नेम्बाङ, नवीन पाण्डे, किशोर राई, कृष्ण थापालगायतको ठूलो समूह रहेको थियो । संयोग नै हो कि अन्तर्राष्ट्रिय फुटबल राजनीतिको असर नेपालमा पनि परेपछि गणेश थापामाथि १० वर्षको प्रतिबन्ध लाग्यो ।

यसपछि भएको अध्यक्षको निर्वाचनमा थापा समूहमा रहको नरेन्द्र श्रेष्ठ विजयी हुनुभयो । अर्कोपटक पूरा कार्यसमितिको निर्वाचन हुँदा नरेन्द्र उम्मेदवार नभएर सो समूहबाट मणि कुँवर उम्मेदवारको रूपमा अघि सारियो । कुँवरको उम्मेदवारीसँगै इन्द्रमान तुलाधरसहितको एउटा समूह कर्माछिरिङको पक्षमा उभिएपछि कर्मा अध्यक्षमा निर्वाचित हुनुभयो।

फुटबलमा सुधार र “चेन्ज एन्फा” अभियानको नाममा भएको आन्दोलनबाट फाइदा उठाउँदै नेतृत्वमा पुगेका शेर्पा नेतृत्वमा पुग्नेबित्तिकै विगतको भन्दा भ्रष्ट र आर्थिक रूपले अपारदर्शी भएको आरोप लाग्न थालेको थियो ।

कत्तिसम्म भने नेपाली फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अल्मुताइरीको भावनालाई प्रयोग गर्दै विवादमा पार्ने काममा अध्यक्ष लागेको आरोप एक पक्षको छ । अधिवेशन हुन एक वर्ष बाँकी रहँदा मतदानलाई प्रभावित गर्ने गरी विभिन्न जिल्लाका प्रतिनिधिलाई विदेश घुमाउन उहाँ तल्लीन रहेको प्रस्ट देखिएको छ ।

यसभन्दा अगाडि कर्माछिरिङलाई अध्यक्षमा जिताउन मुख्य भूमिका निर्वाह गर्ने समूह अहिले उहाँको साथमा छैन । उहाँलाई अध्यक्ष बनाउने क्रममा सबैभन्दा सक्रिय पंकज नेम्बाङ उहाँको मुख्य विरोधीको रूपमा उभिनुभएको छ भने किरण राई पनि उहाँको विरुद्धमा उभिनुभएको छ । त्यसो त फुटबल प्रशिक्षक कृष्ण थापाले गणेश थापाको नेतृत्वमा विद्रोह सुरु भएपछि कर्माछिरिङलाई साथ दिँदै आउनुभएको थियो । यसैगरी महिला फुटबल संघकी अध्यक्ष बिन्द्रा देवान पनि अहिले उहाँको साथमा हुनुहुन्न।

एन्फा नेतृत्वमा स्थापित हुनेबित्तिकै पंकज नेम्बाङलगायत समूहले संघ नेतृत्व आर्थिक सवालमा पारदर्शी नभएको आरोप लगाउन सुरु गरेको थियो । कर्माले त्यो आरोपलाई बेवास्ता गर्दै मात्र हिँडेनन्, अन्य धेरै विवादमा मुछिनुभयो । ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापाले ग्रुप च्याटमा लेखेको आधारमा कारबाही भएको थियो । यसैगरी, राजनीतिक रूपमा भक्तपुर जिल्ला संघलाई प्रभावित पारिएको थियो । कास्की जिल्ला फुटबल संघमा पनि नयाँ किसिमको विवाद यसै समयमा देखियो ।

समस्या यत्तिमा सीमित थिएन, गत वर्ष उहाँले “तराईवासी राष्ट्रियतामा कमजोर हुन्छन्” भन्ने अभिव्यक्ति दिनुभयो । यस अभिव्यक्तिकै कारण उहाँको अझ तीव्र आलोचना भयो । यसै वर्ष घरेलु तथा आन्तरिक यात्रा गर्दा नक्कली हवाई टिकट बनाउने गरेको सञ्चारमाध्यममा आएपछि यसको विषयमा पनि छानबिन समिति गठन भएको थियो । फुटबल संघभित्र विवादमा मुछिँदै गएको शेर्पा शक्तिकेन्द्र रिझाउन भने लगातार तल्लीन रहे । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई कतार लिएर गएका उनले सिलवालकै सल्लाहमा टासी घलेलाई एन्फामा भित्र्याएको निकट श्रोतको दाबी छ ।

एन्फाभित्रको चार गुट

अहिले नेपाल फुटबल संघभित्र अहिले चार गुट सक्रिय छन् । अध्यक्ष शेर्पाको नेतृत्वमा एउटा गुट छ । सो गुटमा पदाधिकारीभन्दा बढी उपसमितिका सदस्यहरू र केही कर्मचारीको प्रभाव छ । यस गुटका प्रमुख पात्र उपाध्यक्ष उपेन्द्रमान सिंह हुनुहुन्छ । फुटबल प्रशिक्षक बालगोपाल महर्जन र हरि खड्का सो समूहमा हुनुहुन्छ । प्रशिक्षक चयन र जिम्मेवारीमा यो समूहले मनपरी गरेको भन्दै नेपालका धेरै प्रशिक्षक अहिले रुष्ट बनेका छन् ।

गत खुकुरी एनएसएल लिगमा फुटबल संघकै कारण तत्कालीन राष्ट्रिय टोलीका प्रशिक्षक बालगोपाल महर्जनलाई क्लब फुटबलमा समेत सिफारिस गरिएको थियो । नेपालको राष्ट्रिय लिग विजेता टोलीका प्रशिक्षक प्रवेश कटुवाललाई भने पूर्णरूपमा बेवास्ता गरिएको थियो ।

यसै समूहमा महिला फुटबल समितिकी पेमा लामा र कर्मचारी सञ्जीव मिश्र पनि हुनुहुन्छ । २०५८ मा सरकारले एन्फा विघटन गर्दै गीता राणालाई अध्यक्षमा चयन गर्दा राणाको अत्यन्त निकट पात्र मिश्र लामो समयसम्म थापाका आलोचक हुनुहुन्थ्यो । तिनै थापाको विरुद्धमा आन्दोलन चल्दा भने उहाँ थापाका निकट पात्र हुनुभएका थियो । अहिले शेर्पा अध्यक्ष भएपछि उहाँ शेर्पाका प्रियपात्र बन्नुभएको छ । उहाँ विगतमा काठमाडौँ क्लबका अध्यक्ष भए पनि क्लबको अहिले नेपाली फुटबलमा खासै प्रभाव छैन ।

महासचिव इन्द्रमान तुलाधरको अर्को समूह छ । यो समूहमा काठमाडौँका ए डिभिजन क्लब अधिकारीको प्रभाव छ । साथमा एन्फाको पछिल्लो साधारण सभामा अन्तिम समयमा मणि कुँवरको साथ छाड्दै कर्माको पक्षमा लाग्ने एउटा समूह यसमा छ ।

पूर्वअध्यक्ष गणेश थापा निकट अर्को समूह छ । विगतदेखि नै गणेश थापा निकट रहेको एउटा समूह अहिले पनि फुटबलमा प्रभावशाली छ । गत एन्फा अधिवेशन बहिस्कार गरेका कारण कार्यसमितिमा त यो समूहको प्रभाव कम छ । तर, जिल्ला फुटबल संघ र ए डिभिजन क्लबमा थापा समूहको प्रभाव छ । साथमा काठमाडौँ जिल्ला फुटबल संघ थापा निकट मानिन्छ ।

उपाध्यक्ष पंकज नेम्बाङ नेतृत्वको अर्को समूह छ । किरण राईलगायत एउटा समूहको उपस्थितिले यो समूह बलियो भएको जनाइन्छ । फुटबलमा गलत शैली र प्रचलन रहेको भने बारम्बार आवाज उठाएका कारण धेरै खेलाडी यो समूहमा नजिक छन् । महिला फुटबल समिति तथा खेलाडी समिति यसै समूहमा रहने प्रबल सम्भावना छ । नेपालका धेरै जिल्ला संघ पनि यस समूह निकट छ ।

चार महिनापछि हुने अधिवेशनलाई मूलतः नेपाली कांग्रेसको हुँदै गरेको महाधिवेशनले पनि प्रभावित पार्ने आँकलन गरिएको छ । आसन्न फुटबल संघको अधिवेशनमा प्रतिनिधि हुनेहरू कांग्रेस पार्टीको राजनीतिमा पनि सक्रिय रहेका कारण सो पाटीको अधिवेशनले पनि फुटबल संघको साधारण सभामा प्रभाव पार्ने आकलन गरिएको हो ।

अबको केही महिनामा एन्फाको अधिवेशन त हुने नै छ । विगतमा आफूलाई सत्तासीन गराउनेको साथ टुटेपछि शेर्पा संगीन मोडमा पुगेका छन् । उहाँले चाल्ने कदम पनि सबैले पर्खिएर बसेका छन् । सायद अबको अधिवेशन उहाँका लागि अत्यन्त कठिन हुने छ । (न्युज कारखाना)