जनता टाइम्स

३० आश्विन २०७८, शनिबार १३:३६

नेपालमाथि गम्भीर घात, साफकै नियमावलीविपरीत मुख्य प्रशिक्षक अल्मुताइरीलाई फाइनलमा प्रतिबन्ध



माल्दिभ्स, असोज ३० । ​नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आज भारतविरुद्ध हुने साफ च्याम्पियनसिप २०२१ को फाइनल खेल गुमाउने हुनुभएको छ । प्रतियोगिताको लिग चरण दौरान दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै साफले अल्मुताइरीमाथि प्रतिबन्ध लगाएको हो ।

अल्मुताइरीले साफको यो निर्णयलाई फाइनल जित्न नदिने गम्भीर षडयन्त्र बताउनु भएको छ । साफले तयार पारेको प्रतियोगिताको नियमावली अनुसार फरक खेलमा पहेंलो कार्ड खाएको प्रतिबन्ध खेलाडीलाई मात्र लाग्ने उल्लेख छ । तर खेलमा रातो कार्ड पाएमा भने अफिसियलले पनि अर्को खेल गुमाउने नियमावलीमा उल्लेख छ । तर साफले अलमुताइरीले दुई फरक खेलमा पहेंलो कार्ड खाएको कारण देखाउँदै प्रतिबन्ध हुने लेख्दै पत्राचार गरेको छ, जुन नियममा उल्लेख नभएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसबारे पत्राचार पनि गरिसकेको छ । एन्फाले प्रतियोगिता नियमावली अनुसार अलमुताइरीलाई प्रतिबन्ध लगाउन नपाउने जनाएको छ । नेपाली टिमका मुख्य प्रशिक्षक अल्मुताइरीले साफ चाम्पियनसिप २०२१ को शनिबार हुने फाइनलमा ‘टेक्निकल एरिया’ मा बस्न नपाउने गरेर कारवाहीको विरोध गर्नुभएको छ । उहाँले प्रतियोगिताको आयोजक दक्षिण एसियाली फुटबल महासंघले गरेको निर्णयमा आपत्ति जनाउँदै यो निर्णय फिर्ता लिनुपर्ने बताउनु भएको हो ।

‘यो कारवाही ममाथि मात्र भएको होइन, नेपाली फुटबल टिम र समग्र नेपाली फुटबलमाथि भएको कारवाही भएको हो,’ अल्मुताइरीले भन्नुभयो, ‘साफ च्याम्पियसिप २०२१ को नियमावालीमा कतै पनि प्रशिक्षकले दुई पहेँलो कार्ड खाएपछि टेक्निकल एरियामा बस्न नपाउने भनिएको छैन । प्रत्येक प्रतियोगिताको आफ्नो अलग नियम हुन्छ ।’ उहाँले नेपाललाई साफ च्याम्पियनसिप जित्नबाट रोक्न यस्तो निर्णय भएको बताउनु भयो ।