जनता टाइम्स

३० आश्विन २०७८, शनिबार १४:११

कोब्रालाई टोकाएर श्रीमती मार्ने श्रीमानलाई अदालतले सुनायो कठोर सँजाय


केरला, भारत । भारतको केरला राज्यका एक पुरुषलाई त्यहाँको अदालतले दोब्बर जन्मकैदको सजाय सुनाएको छ । बिसालु सर्प कोब्रालाई टोकाएर श्रीमतीलाई मारेको आरोपमा उनलाई केरला अदालतले दोब्बर जन्मकैदको सजाय सुनाएको हो ।

सन् २०२० मा केरला राज्यका २८ वर्षीय सुरज कुमारले श्रीमती उथराको कोब्रा प्रजातीको सर्प र सन्हाई प्रयोग गरी हत्या गरेका थिए । बिरामी उथरा करिब २ महिना लामो उपचारपछि माइतीमा बस्दै आएकी थिइन । श्रीमतीलाई घर बोलाउन भन्दै ससुराली गएका उनले चाँडै निको हुने भन्दै सन्हाइ र कोब्रा सर्प सुतिरहेकी उथराको शरीरमा फ्याकेका थिए । विषालु सर्पको टोकाईबाट २५ वर्षीया उथराको सन् २०२० मे महिनामा मृत्यु भएको थियो ।

सो घटनापछि माइती पक्षले दिएको उजुरीको आधारमा सुरजलाई प्रहरीले उनकै घरबाट पक्राउ गरी अनुसन्धान थालेको थियो । सुरजले दाइजोको नाममा श्रीमतीमाथि दमन गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उथराको मृत्युपछि दाइजोबाट प्राप्त सम्पती आफ्नो नाममा गर्ने लोभले उनले पटकपटक श्रीमतीको हत्या गर्न खोजेको र अन्तिमपटक कोब्रा प्रयोग गरी श्रीमतीको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ । सोही आधारमा सोमबार केरलाको कोलाम अदालतले सुरजले पटक पटक श्रीमतीलाई मार्न खोजेको पुष्टि गरेको थियो । बुधबार अदातले उनलाई श्रीमती मारेको आरोपमा दोब्बर जन्मकैदको सजाय सुनाएको स्थानीय सञ्चार माध्यममा खबर छ । अदालतले सुरजले पाएको सो सजायलाई सबैभन्दा दुर्लभ अपराधको सजाय भएको बताएको छ ।