जनता टाइम्स

३१ आश्विन २०७८, आईतवार १२:५९

माधवको पार्टीमा केन्द्रीय सदस्य छनोटप्रति चरम असन्तुष्टि


काठमाडौं, असोज ३१ । नेकपा एकीकृत समाजवादीमा केन्द्रीय कमिटी विस्तार र कार्यविभाजनप्रति चरम असन्तुष्टि देखिएको छ । अध्यक्ष माधव नेपालले केन्द्रीय सदस्य छनोट गर्दा मापदण्ड बनाएर गरिएको बताउनु भएपनि उक्त मापदण्ड व्यक्ति विशेषमा मात्र लागू गरिएको भन्दै सो पार्टीका युवा, विद्यार्थीहरूले कडा आपत्ति जनाएका छन ।

अनेरास्वबियुका अध्यक्ष सुदेश पराजुलीले बिधि र पद्धतीको नाममा नांगो नाच देखिएको भन्दै भन्ने एउटा, गर्ने अर्कैको संज्ञा दिनुभएको छ । ‘कुन विधि, कसको लागि, मापदण्ड एउटा, पात्र छनोट अनेक खल्तीबाट आफू अनुकूल आफ्नो त्यो पनि निजी । सङ्कीर्ण भावना राखेर पार्टी निर्माण गर्ने गलत सोच राख्ने’, नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियुका अध्यक्ष पराजुलीले भन्नुभएको छ, ‘अहिलेदेखि नै गलत मानसिकताबाट व्यक्ति छनोटलाई रुचाउने परिपाटीबाट असल÷सकारात्मक अभ्यास गर्ने नयाँ संकल्प चाहिँ भन्ने मात्रको नारा होला होइन कमरेड ?’

पराजुलीले केन्द्रीय कमिटी निर्माण गर्ने जिम्मा पाएका नेताहरूलाई आफ्नै अनुहार हेर्नसमेत भन्नुभएको छ । ‘नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटी निर्माण गर्ने जिम्मा पाएका कमरेडले विधि÷मापदण्डको मुहार र आफ्नो मुहार एकचोटी हेर्न अनुरोध गर्दछु’, पराजुलीले सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्नुभएको छ, ‘प्रचारमा युवा मैत्री तर पार्टी संरचना/व्यवहारमा शून्यता म, मेरो, निजीलाई प्राथमिकता । कुण्ठाले मात्र पार्टी संरचनाको नेता हुन्छु भन्ने कलिलो सोच नदेख्दा नै राम्रो हुन्छ ।

सो पार्टीका महासचिव डा. बेदुराम भुसाललगायतका नेताको टोलीले निर्वाचन आयोगमा सनाखत गरेबाहेक दुई सय केन्द्रीय सदस्य थप गर्नुभएको छ । पराजुली जस्तै अन्य युवा नेताहरुले केन्द्रीय सदस्य बिस्तार र कार्यबिभाजनप्रति आपत्ति जनाउनु भएको छ ।