जनता टाइम्स

३ कार्तिक २०७८, बुधबार १५:४१

कांग्रेस नेताको ठोकुवा : गठबन्धन राष्ट्र र प्रजातन्त्रको हितमा छैन, ओली-देउवाबीच सहकार्य हुनुपर्छ


सुर्खेत, कात्तिक ३ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले बर्तमान सत्तारुढ गठबन्धन राष्ट्र, जनता र प्रजातन्त्रको हितमा नरहेको बताउनु भएको छ । शाहीले यो गठबन्धनलाई जतिसक्दो चाँडो तोडनु पर्ने निश्कर्षसमेत सुनाउनु भएको छ ।

पछिल्लो समय कर्णालीमा सत्ता परिवर्तन हुने चर्चा चुलिएको बेला भावी मुख्यमन्त्रीका रुपमा रहनुभएका कांग्रेस नेता शाहीले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै गठबन्धनबाट सिमित ब्यक्तिलाई फाइदा हुने देश, जनता र प्रजातन्त्रको पक्षमा भने नहुने बताउनु भएको छ ।
फेसबुकमा केशव प्रसाद भट्टराईले लेखेको ‘आज शेरबहादुर देउवाबारे’ भन्ने बिचार शेयर गर्दै कांग्रेस नेता शाहीले एमाले अध्यक्ष केपी शर्मा ओली र देउवाबीच सहमति र सहकार्य हुनुपर्ने बताउनु भएको छ ।

‘व्याक च्यानल पोलिटिकल डायलगम गर्नमा ओलीले पनि उत्साह र तदारुकता देखाएमा मंसिरमा पार्टीको महाधिवेशन पछि देउवा वैशाखमा चुनाव गर्ने निर्णयमा पुग्न सक्छन, त्यो नै यो राजनीतिक अन्यौल र गतिहीनताको एक मात्र उपाय हो । किनकि, ओली र देउवा भावी राजनीतिक कोर्समा न्यूनतम सहकार्य गरुन र हालको गठबन्धन राष्ट्र र प्रजातन्त्रको हितमा छैन भन्नेमा म विश्वस्त छु,’ शाहीले लेख्नुभएको छ ।

नेपाली कांग्रेसका शीर्ष नेताहरुले चुनाव नै उत्तम बिकल्प भन्दै आफ्नो धारणा सार्वजनिक गरिरहेको बेला शाहीले देउवा र ओलीबीच सहकार्य गर्दै बैशाखमा चुनाव गर्नूपर्ने र गठबन्धन भत्काउनु पर्ने बताउनु भएको हो ।