जनता टाइम्स

४ कार्तिक २०७८, बिहीबार ०९:४४

एमाले स्थायी कमिटी बैठक बस्दै, यस्ता छन एजेण्डा


काठमाडौं, कात्तिक ४ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । आज दिउसो ३ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने बैठकमा पाँच ओटा एजेण्डा तय गरिएको छ ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जनताटाइम्स डटकमलाई दिनुभएको जानकारीअनुसार कात्तिक ६ बाट शुरु हुने वडा र ९ गते हुने पालिका अधिवेशनको लागि आवश्यक नीतिगत निर्णय गर्न स्थायी कमिटी बैठक बोलाइएको हो । वडा, पालिका अधिवेशनसँगै महाधिवेशनको तयारीको बिषय पनि बैठकको एजेण्डा रहेको तामाङले जानकारी दिनुभयो । यसैगरी विधान महाधिवेशनको समिक्षा गर्दै बैठकले तल्ला तहका अधिवेशनहरुको लागि केन्द्रबाट दिइने मार्गदर्शन तथा १० बुँदे कार्यन्वयनमा समस्या भएका ठाउँहरुको बारेमा समेत टुंगो लगाउनेछ ।

एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिरमा हुँदैछ । विधान महाधिवेशनपछि पहिलो पटक बस्न लागेको बैठकमा समग्र विषयमा छलफल हुने छ । यसैगरी पाँचौं एजेण्डामा हालै भएको अबिरल बर्षाका कारण भएको जनधनको क्षतीको सम्बन्धमा पनि एमालेले छलफल गरी सरकारलाई राहतको ठोश कार्यक्रमका लागि दवाव दिने योजना बनाएको छ ।

बैठकमा सरकारले पूर्ववती एमाले नेतृत्वको सरकारले गरेको नियुक्तिलाई अदालतसँग सेटिङ मिलाएर भकाभक पूर्वाग्रही रुपमा हटाउन थालेको बिषयमा समेत छलफल गर्ने कार्यसूची बनाइएको छ ।