जनता टाइम्स

४ कार्तिक २०७८, बिहीबार १३:०६

मह जोडीसँग यसरी जोडिएका थिए किरण केसी


काठमाडौं, कात्तिक ४ । मह जोडी भन्ने बित्तिकै मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको नाम अगाडि आउँछ । मह सञ्चारबाट धेरै नै सिरियल बनेका छन् । हास्यकलाकारका लागि अभिभावकत्व निर्वाह गरेका छन्, मह जोडीले । मह जोडी सफल पनि छन् र यो सफलतामा जोडिएको अर्को एउटा नाम हो किरण केसी ।

राता मकैको उपनामले परिचित किरणले फिल्म र सिरियलमा मह जोडीसँग सहकार्य गर्दै आउनु भएको छ । किरणको चिनजान हरिवंशसँग बाल्यकालदेखि नै थियो । तर, कामको सुरुवात भने पन्ध्र गते सिरियलमार्फत भएको थियो । त्यतिबेला मह जोडी सुरुवाती दिनमा थिए भने किरणले फाट्टफुट्ट अभिनयमा सौख राख्थे ।

‘हामीले टेलिफिल्म बनाउने भएपछि एउटा ट्याक्सी चाहियो र हामीसँग पैसा पनि थिएन । साथै, त्यो समयमा भाडामा गाडी पाउन पनि मुस्किल थियो’, हरिवंशले सुरुवाती दिनलाई सम्झिँदै एक अन्तवार्तामा भन्नुभयो, ‘किरणसँग ट्याक्सी छ भन्ने थाहा पाएपछि उसलाई बोलाएर अभिनय गराएका हौँ ।’

त्यसभन्दा अगाडि उक्त रोल अशोक शर्मालाई तय गरिएको थियो । हरिवंशले सुरुवाती दिनमा गरेको स्ट्रगलले नै अहिले सफलता दिएको बताउनु भयो । त्यसो त हरिवंश अगाडि नै किरणले नाचघरमा मन्चन भएको एक नाटकमा मूख्य भूमिकासमेत निर्वाह गरिसक्नु भएको थियो ।

किरण यसलाई सहकार्यको संयोगको रूपमा लिनुहुन्छ । ‘हाम्रो सहकार्य त्यसरी नै प्रारम्भ हुनु रैछ र भयो’, उहाँ भन्नुहुन्छ, ‘यतिबेला हाम्रो सम्बन्ध सहकार्यसँगै पारिवारिक भइसकेको छ ।’

किरणले मह सञ्चारमार्फत बन्ने फिल्ममा सहकार्य गर्दे आउनुभएको छ । उहाँलाई फिल्मनगरीमा मह सञ्चारको ‘हनुमान’ पनि भन्ने गरिन्छ । महको काम गर्ने शैली अहिले पनि उस्तै चुस्त र दुरुस्त छ । पछिल्लो समय किरणले निर्माण गरेको फिल्म ’लक्का जवान’ प्रदर्शनको तयारीमा छ ।