सीपी लोहिया, बैतडी । बैतडीको पाटन बजारस्थित पाटन बहुमुखी क्याम्पसका उप–प्राध्यापक मोहन जोशीको भारतको पिथौरागडमा भएको दुर्घटनामा मृत्यु भएको छ ।उहाँको निधनले सिंगो जिल्ला स्तब्ध बनेको छ ।
पाटन बहुमुखी क्याम्पसका उपप्राध्यापक मोहन जोशी सबै विद्यार्थीहरू र स्थानीयवासीका प्रिय व्यक्ति हुनुहुन्थ्यो । उहाँ आफैले पढाउने विद्यार्थीहरूलाई तपाईं अथवा हजुर भनेर बोल्ने गर्नुहुन्थ्यो । जोशी अंग्रेजी विषयका अध्यापक हुनुहुन्थ्यो । जोशीको निधनले क्याम्पसलाई मात्रै नभई समग्र समाजलाई अपूरणीय क्षति पुर्याएको पाटन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख उत्तम भण्डारीले बताउनु भयो ।
‘यस क्याम्पसमा ‘२०६५ सालदेखि कार्यरत मोहनजी सबै विद्यार्थी र स्टाफहरूका प्रिय थिए । सबैले सम्मान गरेका व्यक्ति हुनुहुन्थ्यो । बुबा पुजारी भएकाले उहाँ पनि पूजापाठमा सरिक हुने गर्दथे । पूजापाठकै सिलसिलामा भारत जानुभएका जोशीसहित पाँच जनाको जिप दुर्घटनामा निधन भयो । उहाँको निधनले पाटनवासीसहित सबै जिल्लावासी स्तब्ध छौँ,’ भण्डारीले भन्नुभयो ।
शुक्रबार सीमावर्ती गाउँ भारतको पिथौरागडमा उदयदेव मन्दिरको शिलान्यास गर्ने कार्यक्रम थियो । शिलान्यास गर्नका लागि चारधामको जल ल्याएर फर्किने बेला जिप दुर्घटना भएको हो । पिथौरागडमा ज्यान गुमाउनु भएका जोशीले उच्च शिक्षा पिथौरागडबाटै अध्ययन गर्नुभएको थियो । कक्षा १२ पास गरेपछि सीमावर्ती भारतको पिथौरागड गएका जोशीले पिथौरागड निवासी विनोदबहादुर चन्दको घरमा बसेर पढनुभएको थियो । अन्ततः भारतीय सेनाका रिटायर्ड चन्दले नै चलाएको गाडी दुर्घटनामा जोशी र चन्दसहित पाँच जनाले ज्यान गुमाउनु भएको छ ।
मृतक जोशी हरेक सामाजिक क्रियाकलापमा अग्रसर हुने व्यक्ति हुनुहुन्थ्यो । विवाह, व्रतबन्ध, जात्रा तथा कुनै पनि शुभकार्य हुँदा जोशी खटनपटनमा अग्रसर हुने गर्नुहुन्थ्यो । आफू पुजारी/पण्डितको छोरा भए पनि जातीय विभेद र सबैखाले सामाजिक विभेद हटाउन अग्रसर हुने गरेको स्थानीय कमल बोहराले बताउनु भयो । (न्यूज कारखाना)













प्रतिक्रिया दिनुहोस्