जनता टाइम्स

५ कार्तिक २०७८, शुक्रबार ११:०६

पहिलो पटक उत्तरी कोरलानाकामा पुग्यो बस


जोमसोम, कात्तिक ५ । चीनको स्वशासितक्षेत्र तिब्बत र नेपालतर्फ उपल्लो मुस्ताङको सीमानाका कोरलानाकामा पहिलो पटक यात्रु बस पुगेको छ। कोरलानाकासम्मका लागि आन्तरिक पर्यटक लिएर बुधबार मुस्ताङ मुक्तिनाथ यातायात प्रालिको ग १ ख ७३३४ नं को बस उपल्लो मुस्ताङ पुगको हो । बस आइपुगेपछ स्थानीयवासी दंग देखिएका छन।

बुधबार मुस्ताङ यातायात प्रालिले उपल्लो मुस्ताङमा बस सञ्चालन गर्नका लागि ट्रायल परिक्षण गरेको थियो। जोमसोमदेखि उपल्लो मुस्ताङमा पुगेका बसका चालक प्रकाश आले सडक स्तरोन्नति राम्रो भएको एकाध स्थानमा सडक स्तरोन्नति र मोटरेबल पुल निर्माण हुनेसके बाह्रै महिना बस चलाउन सकिने जानकारी दिनुभयो। उहाँले विगतको तुलनामा सडक अवस्थामा व्यापक सुधार भएको बताउनु भयो ।

लोमान्थाङबाट कोरलानाकाको २४ नं सीमास्तम्भसम्म मुस्ताङ मुक्तिनाथ यातायातको बस पुगेको उपल्लो मुस्ताङका स्थानीय छिरिङ फेन्जो गुरुङले जानकारी दिनुभयो। उहाँले उपल्लो मुस्ताङमा पहिलो पटक यात्रुबाहक बस आएको र बस आउँदा स्थानीयबासी उत्साहित भएको बताउनु भयो। बुधबार उपल्लो मुस्ताङ पुगेको बसका चालक तथा पर्यटकलाई स्थानीयबासीले खादा लगाएर सम्मानसहित स्वागत गरेका छन्।

बुधबार पहिलो पटक बस पुगेको र सो बस र बसका पर्यटकले कोरलानाकाको २४ नं सीमास्तम्भमा फोटो खिचेको तस्बिरसमेत सामाजिक सञ्जालमा राखिएको छ । उपल्लो मुस्ताङमा सहज रुपमा बस पुगेपछि उपल्लो मुस्ताङ र कोरलानाकासम्म पुग्न आन्तरिक पर्यटक र स्थानीयबासीले थप सुविधा हुने अपेक्षा गरिएको छ। स्थानीयले उपल्लो मुस्ताङमा नियमित रुपमा बस सेवा सञ्चालन गर्न समेत यातायात व्यवसायीलाई अनुरोध गरेका छन्।

उपल्लो मुस्ताङमा विगत ३ वर्ष अघिदेखि हलुका फोर ह्वील जीप मात्र चल्ने गर्दथ्यो। राष्ट्रिय गौरवको बेनी(जोमसोम(कोरला सडकखण्ड अन्तर्गत जोमसोम-कोरला सडक निकै जोखिम र सडकको पहुच राम्रो थिएन। उपल्लो मुस्ताङमा पुग्न हलुका सवारीमा जोमसोमबाट २ हजार भाडा तिर्नु पर्थ्यो। बस चलेमा भाडादर समेत सस्तो हुने स्थानीयको भनाई छ। पछिल्लो समय जोमसोम कोरला सडक स्तरोन्नति हुँदै जान थालेपछि उपल्लो मुस्ताङको यात्रासमेत सहज हुन थालेको हो। जोमसोम-कोरला सडकअन्तर्गत केही सडकखण्डको प्याकेजमा ठेकेदार कम्पनीले सडक स्तरोन्नतिमा ढिलासुस्ती गरेपनि अधिकांश खण्डको काम अन्तिम चरणमा पुगेको जनाईएको छ।