जनता टाइम्स

५ कार्तिक २०७८, शुक्रबार १४:४२

प्रधानन्यायाधीशको आचरण र व्यवहारमा नै गम्भीर शंका उत्पन्न : पूर्व न्यायाधीश फोरम


काठमाडौँ, ५ कार्तिक । पूर्व न्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको आचरण र व्यवहारमा गम्भीर शंका उत्पन्न भएको बताएको छ ।
शुक्रबार विज्ञप्ति जारी गर्दै पूर्व न्यायाधीश फोरम, नेपालले भनेको छ, मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीशको पनि कोटा भन्ने शीर्षक राखी प्रिन्ट मिडिया र अनलाइनमा समाचार सम्प्रेषण हुनु र त्यसको नेपाल बार एसोसियशनतर्फबाट समेत भएको विरोधको बावजूद प्रधानन्यायाधीशको नाताका मानिस मन्त्रिपरिषद्‌मा समावेश गराइनु र चर्को विरोधपश्चात मन्त्रीको राजीनामा आउनुले प्रधानन्यायाधीशको आचरण र व्यवहारमा नै गम्भीर शंका उत्पन्न गराएको छ । फोरमले न्यायपालिकाको गरिमा जोगाउन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले निकास दिनुपर्ने बताएको छ ।अध्यक्ष टोपबहादुर सिंहले शुक्रबार विज्ञप्ति जारी गरी न्यायालयको गरिमा, विश्वसनीयता, जनआस्था र स्वतन्त्रता जोगाउन प्रधानन्यायाधीश जबरा स्वयंले निकास दिनु वान्छनीय र अनिवार्य हुने बताउनुभएको छ । तर प्रधानन्यायाधीले न्यायपालिकाको पक्षमा उदारता नदेखाएमा प्रतिनिधिसभाले आफ्नो संवैधानिक कर्तव्य पूरा गर्नुपर्ने पूर्वन्यायाधीश फोरमले बताएको छ । ‘‘न्यायपालिकाको गरिमा, विश्वसनीयता, जनआस्था र स्वतन्त्रता जोगाउनका लागि प्रधानन्यायाधीश स्वयंले निकास दिनु यथोचित हुनसक्छ । यो वान्छनीय र अनिवार्य पनि देखिएको छ’ विज्ञप्तिमा भनिएको छ ।