जनता टाइम्स

५ कार्तिक २०७८, शुक्रबार १५:४०

सुदूरपश्चिममा बाढी पहिराबाट मृत्यु हुनेको संख्या ३३ पुग्यो, २२ जना बेपत्ता


धनगढी, कात्तिक ५ । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको प्राकृति विपद्को घटनामा परी आज बिहानसम्म सुदुरपश्चिम प्रदेशमा ३३ जनाको मृत्यु भएको हो ।

विपदबाट सबैभन्दा बढी डोटीमा मानवीय क्षति भएको छ । सो जिल्लामा १६ जनाको मृत्यु भएको छ । यसैगरी बझाङमा नौ, बैतडीमा चार, डडेलधुरामा तीन र कैलालीमा एक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । विपदमा परी यस प्रदेशमा २२ जना बेपत्ता छन् । बझाङमा २० र बैतडी, कैलाली, एक÷एक बेपत्ता रहेका हुन् । यस्तै विपदमा परी १७ जना घाइते छन् । डोटीमा ११, डडेलधुरामा दुई, बैतडीमा दुई र बझाङ र बाजुरमा एक÷एक जना घाइते भएका हुन् ।

विपद्मा परी बाजुरा, डोटी, डडेल्धुरा, बझाङ, जिल्लामा गरी सय भन्दा बढी पशु चौपाया पनि मरेका छन् । पहिराका कारण बझाङमा १२, डोटीमा छ र डडेल्धुरामा दुई गरी २० घरमा पूर्णरुपमा क्षति पुगेको छ ।

बाढीका कारण यहाँका २१६ घरधुरी डुबानमा परेकामा ४३० जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको जनाइएको छ । बाढी, पहिराकै कारण सुदूरपश्चिम प्रदेशमा करोडौँको धनमालको क्षतिसमेत भएको प्रहरीले जनाएको छ । अहिले यहाँको जनजीवन सामान्य बन्दै गएको छ ।