जनता टाइम्स

५ कार्तिक २०७८, शुक्रबार १९:२५

कार्यदल संयोजकबाट राजीनामा दिने भीम रावलको घोषणा



काठमाडौं, कात्तिक ५ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलको संयोजकबाट राजीनामा दिने घोषणा गर्नुभएको छ ।

केन्द्रीय कमिटीले निर्णय गरेर अन्तरपार्टी निर्देशनबाटै जारी भएको १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएर रावलले संयोजकबाट राजीनामा दिने घोषणा गर्नुभएको हो ।

‘यो मेरो व्यक्तिगत कुरा होइन । अपानिबाट जारी भएको कुरा कार्यान्वयन गर्ने कि नगर्ने भन्ने कुरा हो । र, त्यसको कार्यान्वयन नगर्ने तर्क आएको हुनाले म त्यसप्रति सहमत हुन सकिनँ,’ राजीनामाबारे रावलले भन्नुभयो, ‘एकातिर भीम रावललाई कार्यदल संयोजकको जिम्मा छ कार्यान्वयन गरे भइहाल्यो भन्ने, अर्कोतिर पार्टीमा भएका छलफल र केन्द्रीय कमिटीले गरेको निर्णय मान्ने नभएपछि त्यो कार्यदलमा बसिरहनुको कुनै औचित्य नभएको हुनाले त्यसबाट राजीनामा दिने बैठकमा घोषणा गरेको छु र लिखित रूपमा भोलि अध्यक्षलाई पठाउने जानकारी गराएको छु ।’