जनता टाइम्स

५ कार्तिक २०७८, शुक्रबार २१:००

जयनगर–कुर्ता सीमापार रेलमार्ग हस्तान्तरण



काठमाडौं, ५ कार्तिक ।  भारत सरकारको आर्थिक सहयोगमा ३५ किलोमिटर जयनगर–कुर्ता सीमापार न्यारोगेज रेलमार्ग ब्रोडगेजमा रूपान्तरण भएको छ । निर्माण पूरा भएसँगै त्यसलाई भारतले नेपाल सरकारलाई हस्तान्तरण पनि गरेको छ ।

आज राजधानीमा आयोजित एक समारोहमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले रेलमार्गको स्वामित्वसम्बन्धी दस्तावेज हस्तान्तरण गर्नुभयो । आजैदेखि उक्त रेलमार्गको स्वामित्व नेपाल रेलवे कम्पनी लिमिटेडमा स्थानान्तरण भएको छ ।

भारत सरकारको आर्थिक सहयोगअन्तर्गत आठ अर्ब ७७ करोडमा निर्माण भएको उक्त रेलमार्ग ६८.७२ किलोमिटर जयनगर–बिजलपुरा–बर्दिबास रेलमार्गको एउटा खण्ड हो । उक्त रेलमार्ग सञ्चालन भएपछि नेपाल र भारतबीच व्यापार–वाणिज्य वृद्धिका साथै दुई देशका जनताबीचको सम्बन्ध र सम्पर्क अझ सुदृढ हुने अपेक्षा गरिएको छ ।