जनता टाइम्स

६ कार्तिक २०७८, शनिबार १५:१२

भीम रावलको राजीनामाबारे ओलीले खोले मुख


काठमाडौं, कात्तिक ६ । एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकबाट दिनुभएको राजीनामाबारे मुख खोल्नुभएको छ । अध्यक्ष ओलीले उपाध्यक्ष रावलले संयोजन गर्न नसकेर कार्यदलबाट राजीनमा दिनुभएको प्रष्ट पार्नुभएको हो । उहाँले एमालेमा अव कुनै गुट वा कुनै भाइबहिनी नभएको पनि प्रष्ट पार्नुभयो ।

उपाध्यक्ष रावलले शुक्रवारको स्थायी कमिटी बैठकमा संयोजकबाट राजीनामा दिने घोषणा गर्नुभएको थियो । ‘सहजीकरण मैले गरेर भएन, संयोजन मैले सकिन, त्यसकरण मेरो राजीनामा भन्नुभयो, त्यो त्यत्रो ठूलो कुरो पनि होइन। लिखित पनि होइन, त्यो स्वीकार्य पनि होइन, अस्वीकार्य पनि होइन,’ रावलको राजीनामाबारे आज शनिबार पार्टी कार्यालयमा अध्यक्ष ओलीले भन्नुभयो ।

अध्यक्ष ओलीले १० बुँदे कार्यान्वयन भइसकेको र बाँकी रहेका ठाउँमा रचनात्मक ढंगले कार्यान्वयन हुने प्रष्ट पार्नुभयो । ‘१० बुँदे सहमति कार्यान्वयन सबैतिर भइसक्यो । केही–केही ठाउँमा रहेको भए रचनात्मक ढंगले कार्यान्वयन हुन्छ । त्यसमा समस्या छैन,’ अध्यक्ष ओलील भन्नुभयो, ‘बाँकी केही छ, त्यो हुन्छ ।’