जनता टाइम्स

६ कार्तिक २०७८, शनिबार २१:०२

परराष्ट्रमन्त्री खड्काको अभिब्यक्तिले एमाले नेतृ शिवमाया आक्रोशित


काठमाडौं, कार्तिक ६ । पूर्वमन्त्री एवं एमाले नेतृ डा. शिवमाया तुम्बाहाङफेले परराष्ट्रमन्त्री डा.नारायण खड्काको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतलाई सोधेरमात्र जनगणना गर्ने भनाइको प्रतिवाद गर्नुभएको छ । भारतलाई खुसी पार्ने नाममा जनताको मानवअधिकार हनन् गर्ने छुट नभएको डा. तुम्बाहाङफेको भनाइ छ ।

‘परराष्ट्र मन्त्रीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतलाई सोधेर मात्र जनगणना गर्ने भनिरहँदा सो स्थानलाई सविधानले सम्बोधन गरेको कुरालाई बिर्सनुभयो ? किन सबै नेपाली जनताको साथ पाएको विषयमाथि कुठाराघात गर्ने आत्मघाती निर्णयमा गठबन्धन सरकार ?,’ उहाँको भनाइ छ, ‘भारतलाई खुसी पार्ने नाममा जनताको मानवअधिकार हनन् गर्ने छुट छैन सरकारलाई। तुरून्त जनगणना गर्ने व्यवस्था मिलाउ सरकार । नत्र यसको मूल्य महँगो पर्ला है ।’

शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले भन्नुभएको थियो, ‘जनगणना गर्न उसलाई सोध्नुपर्छ । उसले आफ्नो तरिकाले एउटा मेथडोलोजी र मेकानिज्म बनाएर जनगणना गर्ने भनेको छ ।’