जनता टाइम्स

७ कार्तिक २०७८, आईतवार १८:२९

गृहजिल्लाबाट केपी ओलीको उदघोष : प्रचण्डले चुनाव जित्दैनन, माधव नेपाल समानुपातिकमा बस्छन


झापा, कात्तिक ७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनाव जितेर देखाउन पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपाललाई चुनौती दिनुभएको छ । गृहजिल्ला झापामा आज आयोजित बृहद पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो चुनौती दिनुभएको हो ।

झापाको विर्तामोडमा आइतबार तीन हजारभन्दा बढीलाई एमालेमा स्वागत गर्ने कार्यक्रममा अध्यक्ष ओलीले प्रचण्ड र माधवले अव चुनाव कतैबाट नजित्ने ठोकुवा गर्नुभयो । ‘प्रचण्डले चुनाव जित्दैनन, माधव नेपाल समानुपातिकमा बस्छन,’ अध्यक्ष ओलीले भन्नुभयो । उहाँले माधव नेपालको नामै लिएर ‘गद्दारहरुले विरोधीसँग लागेर एमालेलाई दुःख दिएको’ बताउनुभयो ।

‘बिग्रिएका तत्व पार्टीमा थुपारेर काम छैन । माधव नेपालबाहेक अरु फर्किए हुन्छ, तर माधव नेपालजस्ता आपराधिक तत्वलाई एमालेमा स्थान दिइँदैन । यो देश बनाउनेहरुको पार्टी हो । माधव नेपालजस्ता देशी–विदेशी प्रतिक्रियावादीको सेवा गर्ने र कम्युनिष्ट सरकार ढाल्नेलाई यहाँ कुनै स्थान छैन,’ ओलीले भन्नुभयो ।

उहाँले प्रचण्डलाई पनि एमालेले चुनाव जिताइ दिएको भन्दै अव जित्ने कुरा सपना बनेको बताउनु भयो । ‘हामीले चुनाव जिताइदिएर संसदमा ल्याएको हो । प्रचण्डको फुर्ती हामीले जगाइदिएको हो । अब जितेर देखाउन । उनीहरूलाई कसले भोट दिन्छ ? अव जनताले भन्नेछन– जाऊ अदालत गएर परमादेश लिएर आऊ, हामीकहाँ किन आउँछौं ?’ ओलीले भन्नुभयो ।

सबै लाग्दा आफू नेतृत्वको सरकार तीन वर्षमा मात्रै ढालेको स्मरण गर्दै उहाँले अहिलेको सरकार तीन महिनामा नै ढलपल–ढलपल अवस्थामा पुगेको बताउनु भयो । एमालेले जस्तो विधान महाधिवेशन र देशैभर एकैदिन वडा अधिवेशन अर्को कुनै पनि दलले गर्न नसक्ने भन्दै ओलीले आगामी निर्वाचनमा एमालेसँग प्रतिस्पर्धा निकै गाह्रो भएको तथ्य राख्नुभयो । ‘अरु कुनै पार्टीले यस्तो गर्न सक्दैन, यो सामथ्य अरुसँग छैन,’ ओलीले भन्नुभयो, ‘एमाले विचारमा मात्र होइन, लोकतान्त्रिक आचमरणमा पनि अगाडि छ ।’