झापा, कात्तिक ८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालत गुटबन्दीको अखडा बनेको र प्रधानन्यायाधीश मात्रै नभएर परमादेश जारी गर्ने सवै न्यायाधीशको अनुहार उस्तै रहेको बताउनु भएको छ ।
एमाले अध्यक्ष ओलीले न्यायलाई सट्टा पट्टा गरेपछि अदालतको सम्मान घटेको र अहिलेको बेथिती देखिएको बताउनु भयो । गृहजिल्ला झापाको तीन दिने भ्रमणमा रहनुभएका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले आफ्नै निर्वाचन क्षेत्र गौरादहमा आज आयोजित कार्यक्रममा यस्तो टिप्पणी गर्नुभएको हो ।

‘सर्वोच्च अदालत आफै गुटबन्दीको अखडा बनेको छ, यसमा टुप्पो (प्रधान न्यायाधीश) मात्र नभएर परमादेश जारी गर्ने सबै न्यायाधीशको अनुहार उस्तै रहेको छ,’ एमाले अध्यक्ष ओलीले भन्नुभयो । उहाँले न्यायाधीशहरु आफैं आरोप प्रत्यारोप र मारामारीमा उत्रिएर दुनियाँमा नभएको जात्रा देखाइरहेको टिप्पणी पनि गर्नुभयो । अदालत सट्टा पट्टामा चलेको र सत्ता गठबन्धनसँग मिलेमतो गर्दा न्यायको नै हुर्मत लिइएको पनि ओलीले बताउनु भयो ।

‘अहिले देखिरहनु भएको छ, अदालतको हुर्मत लिने काम भइरहेकोे छ । कहिले परमादेश जारी गरेर दुनियाँमा नभएको जात्रा देखाइरहेका छन, कहिले गुटबन्दी, कहिले सट्टापट्टाको कुरा सुनिन्छ,’ ओलीले भन्नुभयो, ‘न्याय पाउँछौँ भनेर विश्वास गर्ने ठाउँमा न्यायाधीश आफैं आरोप–प्रत्यारोप र मारामार गरेका छन ।’













प्रतिक्रिया दिनुहोस्