जनता टाइम्स

१० असार २०७६, मंगलवार १३:३२

समृद्धिका लागि व्यावसायिक शिक्षा अपरिहार्य : मन्त्री पोखरेल


महोत्तरी, असार १०

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले समृद्धिका लागि व्यावसायिक शिक्षाको प्रवद्र्धन आवश्यक भएको बताउनुभएको छ । आज बिहान महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–५ सीतापुरस्थित माध्यमिक विद्यालय भङ्गाहा, सीतापुर, सिद्धपुरको निर्माणाधीन कृषि शिक्षा भवनको निरीक्षणपछि अभिभावक, शिक्षक र विद्यार्थीलाई मन्त्री पोखरेलले सो कुरा बताउनुभएको हो ।

सो माविमा कृषि विषयको पठनपाठनका लागि मन्त्री पोखरेलकै सिफारिसमा संसदीय विकास कोषबाट रु ७० लाखको लागतमा नयाँ भवन बन्दैछ । स्थानीय तहका जनप्रतिनिधि, अभिभावक, शिक्षक र विद्यार्थीसँगको कुराकानीमा मन्त्री पोखरेलले सामुदायिक विद्यालयको पठनपाठनमा सुधार नगरिएसम्म आम जनताका छोराछोरीले रोजगारमूलक गुणस्तरीय शिक्षा पाउन नसक्ने बताउनुभयो ।

अहिले १० वर्षे विद्यालय सुधारको कार्यक्रम नै बनाएर सरकार अघि बढेको मन्त्री पोखरेलले जानकारी दिनुभयो । मन्त्री पोखरेलले नयाँ भवनमा कृषि शिक्षासम्बन्धी प्रयोगशाला रहने बताउनुभयो । विद्यालय सुधार कार्यक्रमअनुसार नै अब कक्षा ८ सम्मका पाठ्यपुस्तक रङ्गीन बनाउन लागिएको उहाँको भनाइ थियो ।

आठ कोठे दुईतले भवन निर्माण भएपछि आउने शैक्षिक सत्र २०७७ को पठनपाठन नयाँ भवनमा शुरु गरिने विद्यालयका प्रधानाध्यापक श्रीराम यादवले जानकारी दिनुभयो ।