जनता टाइम्स

१० कार्तिक २०७८, बुधबार १८:२६

चार जना दावेदार रहेको रूपन्देहीको तिलोत्तमामा पाण्डे बने एमाले अध्यक्ष, यी हुन पदाधिकारी


बुटवल, कात्तिक १० । एमालेले रूपन्देहीको तिलोत्तमा नगर कमिटीको नेतृत्व सर्वसम्मत टुंग्याएको छ । नगर कमिटीको प्रथम अधिवेशनमा चार जनाले अध्यक्षमा उम्मेदवारी दिए पनि आपसी सहमतिमा तामनाथ पाण्डेय अध्यक्ष चयन हुनुभएको छ ।

अध्यक्षमा उम्मेदवारी दिनुभएका नेत्र वनलाई उपाध्यक्ष र अर्का प्रत्यासी मीनप्रसाद पोखरेललाई सचिवमा चयन गरिएको छ । अध्यक्षका अर्का प्रत्यासी सुरेन्द्र श्रीले अन्तिम समयमा दाबी छाडेपछि पाण्डे सर्वसम्मत हुनुभएको हो । त्यस्तै, उपसचिवमा भने गंगा गुरुङ र गणेश उपाध्यायलाई सर्वसम्मत चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।

अध्यक्षका प्रत्यासी बनेका सुरेन्द्र श्रीलाई जिल्ला कमिटीमा लैजाने गरी सहमति जुटाइएको बताइएको छ । उहाँ तिलोत्तमा नगरपालिकाका प्रवक्तासमेत हुनुहुन्छ । अध्यक्षमा चयन भएका पाण्डे तिलोत्तमा १ का वडा अध्यक्ष हुनुहुन्छ । वन र पोखरेल भने यसअघि पनि एमाले नगर उपाध्यक्ष र सचिवको जिम्मेवारीमा रहनुभएको थियो ।

एमाले उपमहासचिव विष्णु पौडेलको निर्वाचन क्षेत्र रहेको तिलोत्तमा नगरपालिका अर्का उपमहासचिव घनश्याम भुसालको गृहनगर हो । नगर अधिवेशनले ७५ सदस्यीय कमिटी निर्माण गरेको छ ।