पोखरा, कात्तिक १० । दशौं महाधिवेशनअन्तर्गत मंगलबारदेखि जारी एमालेको पालिका अधिवेशन पोखरामा बल्ल सुरु भएको छ । सुरुमै सर्वसम्मतिको प्रयास गरे पनि सहमति जुट्न नसकेपछि मनोनयन दर्ता सुरु भएको छ । महानगरको नेतृत्वका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । हालका अध्यक्ष दीपक पौडेलसहित नेताहरू तेजनारायण अधिकारी, दिलीप न्यौपाने, हरि त्रिपाठी र धनबहादुर नेपालीले मनोनयन दर्ता गराउनु भएको हो ।
यस्तै, उपाध्यक्षमा छ जना र सचिवमा दुई जनाले मनोनयन दर्ता गरेका छन् । मोहन गुरुङ, बैनबहादुर गुरुङ, उमा परियार, राजकुमारी भुजेल, यशोधा भट्टराई र चिरन्जीवी पोख्रेल उपाध्यक्षको प्रतिस्पर्धामा, सचिवमा जीवन आचार्य र गोकर्ण अधिकारी मात्र उम्मेदवार बन्नुभएको हो ।
उपसचिवमा भने धेरैको मनोनयन परेको छ । सीमबहादुर गुरुङ, दुर्गाप्रसाद श्रेष्ठ, बलराम गिरी, रामचन्द्र थापा, खड्कबहादुर विश्वकर्मा, प्रकाश पौडेल, शिवप्रसाद आचार्य, हरिप्रसाद लम्साल, मीनबहादुर थापा, विष्णु पुनले उम्मेदवारी दिनुभएको छ । यसैगरी वीरेन्द्र भण्डारी, दलबहादुर खत्री, हरिमाया गुरुङ, सूर्य भण्डारी, विष्णुहरि तिमिल्सिना, सुभाष ढुंगाना र सीता विकले पनि उपसचिवमा दावी गर्नुभएको छ ।
सबै पदाधीकारी एक एक जना तथा उपसचिव दुई जना निर्वाचित हुनेछन् । मनोनयनपछि पनि सर्वसम्मतको प्रयास भइरहेको छ । दिलीप न्यौपाने र दीपक पौडेलबीच अध्यक्षमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । एमाले पदाधिकारीमा उम्मेदवारी दिनेमध्ये अधिकांश महानगरका वडा अध्यक्ष छन् । उम्मेद्वारी दिनेमा एमाले सचिव पृथ्वी सुब्बा गुरुङ र पोलिटब्युरो सदस्य खगराज अधिकारी निकट रहेका छन ।













प्रतिक्रिया दिनुहोस्