जनता टाइम्स

१० कार्तिक २०७८, बुधबार १९:०२

कपिलबस्तुका १० ओटै पालिकामा सर्वसम्मत नेतृत्व चयन, अखिलका सचिव बने कपिलवस्तु नगरका अध्यक्ष


कपिलवस्तु, कात्तिक १० । कपिलवस्तुका सबै पालिकामा नेकपा एमालेको अधिवेशन सम्पन्न भएको छ । जिल्लाका १० पालिकामा मंगलबार सम्पन्न नगर तथा गाउँ अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको एमाले कपिलवस्तु जिल्ला अध्यक्ष झवीलाल पोख्रेलले बताउनु भयो ।

अध्यक्ष पोख्रेलका अनुसार अखिलका केन्द्रीय सचिव श्याम प्रकाश प्रजापति कपिलवस्तु नगर अध्यक्ष चयन हुनुभएको छ । नगर अध्यक्षमा प्रजापति सर्वसम्मत चुनिनु भएको हो । यसैगरी विजयनगर गाउँपालिकाको अधिवेशनले थर्क बहादुर खन्गाहाको नेतृत्वमा ५१ सदस्यीय गाउँ कमिटी चयन भएको छ ।

एमाले जिल्ला उपाध्यक्ष बाबुराम खनालका अनुसार शुद्धोधन गाउँपालिकाको अध्यक्षमा राम विलास कुर्मीको नेतृत्वमा ४७ सदस्यीय गाउँ कमिटी चयन भएको छ । यसैगरी यशोधरा गाउँकमिटीको अध्यक्षमा हरम सरिफ चयन हुनुभएको छ ।

बाणगंगा नगरपालिकामा युवराज पोख्रेलको दोहोरिनु भएको छ । दोहोरो कार्यकाल पाउनेमा बुद्धभूमी नगरपालिकामा देवी प्रसाद बेल्बासे, शिवराज नगरपालिकामा जगत पौडेल, कृष्णनगर नगरपालिकामा सन्दीप मौर्या, मायादेवी गाउँपालिकामा जगन्नाथ चौधरी, महाराजगन्ज नगरपालिकामा निजामुद्धिन खाँन हुनुहुन्छ ।