जनता टाइम्स

१० कार्तिक २०७८, बुधबार २०:१८

चितवनका १० मध्ये ६ ओटा पालिकामा एमालेले छान्यो नेतृत्व, यी हुन अध्यक्ष र पदाधिकारी


कुलप्रसाद काफ्ले/चितवन । नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत चितवनका सात मध्ये छ पालिकामा अधिवेशन सम्पन्न भएको छ । तीन पालिकामा भने अझै पनि कमिटीको नेतृत्व चयन हुन सकेको छैन । खैरहनी नगरपालिकामा मंगलबार देखिएको विवाद आज मिलेको छ ।

इच्छाकामना गाउँपालिका र रत्ननगर नगरपालिकामा एमालेले नयाँ नेतृत्व चयन गरेको छ । नेतृत्वका लागि सहमति हुन नसकेपछि रत्ननगरको अधिवेशन बुधबारसम्मको लागि स्थगित भएको थियो । इच्छाकामनामा बुधबार मात्रै अधिवेशन भएको हो । भरतपुर महानगरपालिकामा कात्तिक १५ गते अधिवेशन हुने छ ।

कालिका, राप्ती र माडी नगर कमिटीको नेतृत्वमा अझै पनि सहमति जुटेको छैन । जिल्ला स्तरका नेताहरू सहमति जुटाउने भन्दै लागि परेका छन् । माडीमा सम्भवतः शनिबारसम्म सहमति जुट्ने एमाले माडीका नेता श्याम विष्टले बताउनु भयो ।

खैरहनीमा सहजीकरण कार्यदल संयोजक जेएन थपलियाले मंगलबार पूर्णबहादुर डल्लाकोटीको नेतृत्वमा घोषणा गरेको नगर कमिटीले नै मान्यता पाएको बताउनु भयो । थपलियाले एकलौटी रूपमा कमिटी घोषणा गरेको भन्दै कार्यदलकै सदस्य केशव कँडेलको समूहले असन्तुष्टि जनाउँदै समानान्तर कमिटी घोषणा गरेको थियो ।

जिल्ला र स्थानीय तहका नेताहरू बीच आगामी दिनमा कमीकमजोरी नदोहोर्‍याउने सहमति भएपछि डल्लाकोटीको नेतृत्वकै कमिटीलाई मान्यता दिइएको कँडेलले बताउनु भयो । ‘अधिवेशनको विधि प्रक्रिया पुरा नगरेपछि सौहार्द वातावरण बनाउन भन्दै साथीहरूले आवाज उठाउनुभएको थियो’, उहाँले भन्नुभयो, ‘मंगलबार देखिएका कमीकमजोरी नदोहोर्‍याउने विषयमा जिल्ला र स्थानीय तहका नेताबीच सहमति भएपछि विवाद मिलेको छ ।’

खैरहनी नगर कमिटीको उपाध्यक्षमा छत्र सुवेदी र सचिवमा गोपाल परियार चयन हुनुभएको छ । दुई जना सहसचिवपछि थप गर्नेगरी ५७ सदस्यीय नगर कमिटी बनाइएको हो ।

रत्ननगर नगर कमिटीको अध्यक्षमा ईश्वरीप्रसाद अर्याल चयन हुनुभएको छ । ७५ सदस्यीय नगर कमिटीको उपाध्यक्षमा पुष्प जोशी, सचिवमा शिवराज सुवेदी तथा सहसचिवमा सागर मिश्र र अरुणा कट्टेल चयन रहनु भएको छ ।

यस्तै एमाले इच्छाकामना गाउँ कमिटीको अध्यक्षमा कृष्णप्रसाद सिलवाल चयन हुनुभएको छ । ७५ सदस्यीय कमिटीको उपाध्यक्षमा नरबहादुर नेपाल, सचिवमा अञ्जना अधिकारी, सहसचिवमा बोधबहादुर गोले र लक्ष्मण चेपाङ रहनुभएको छ । (न्यूज कारखाना)