जनता टाइम्स

११ कार्तिक २०७८, बिहीबार २०:४४

मन्त्री सवार गाडीले ठक्कर दिँदा एक जना घाइते


बुटवल, ११ कार्तिक । लुम्बिनी प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाही सवार गाडीले एक मोटरसाइकललाई ठक्कर दिएको छ । बिहीबार अपराह्न ५ बजेतिर मन्त्री शाही सवार भे१झ ३३१ नम्बरको गाडीले लु७८प ५६६३ मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा रुपन्देहीको तिलोत्तमा–३, शंकरनगरमा मन्त्री सवार गाडीले ठक्कर दिँदा बुटवल उपमहानगरपालिका–१२, तामनगर निवासी २० वर्षीय मिगिन मगर घाइते हुनुभएको छ । दुर्घटनामा परी घाइते व्यक्तिको वास्ता नगरी मन्त्री शाही हतार–हतार अर्को गाडीमा चढेर पुनः भैरहवातर्फ गएको प्रत्यक्षदर्शीको भनाइ छ ।

तर मन्त्री शाहीले घाइतेलाई उपचारका लागि क्रिमसन अस्पताल लैजान आफूले स्वकीय सचिवलाई निर्देशन दिएको बताउनुभयो । उहाँले आफ्नो गाडी र चालक पनि अहिले ड्राइभर प्रहरी चौकीमा रहेको बताउनुभयो ।