काठमाडौं, कात्तिक १२ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । दशौं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिको मापदण्ड, कार्यतालिकालगायतका विषयमा स्थायी कमिटीले गरेको निर्णय अनुमोदन गर्न आज केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।
केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक आज बिहान ११ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा बोलाइएको छ । बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ र समीक्षा तथा राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यकालिकामाथि छलफल हुने एमाले केन्द्रीय कार्यालय सचिव तामाङले जानकारी दिनुभयो ।
बिहीबार साँझ बसेको स्थायी कमिटी बैठकले देशभर ७ लाख २१ हजार जना पार्टी सदस्यबाट १ हजार ५ सय ३६ जना प्रतिनिधि छनोट गर्ने निर्णय गरेको थियो । एमालेमा ४९ प्रतिशत खुला प्रतिनिधि र ५१ प्रतिशत समावेशी प्रतिनिधि हुनेछन् ।
गत शुक्रबार बसेको स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि रामबहादुर थापा बादलको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरेको थियो । बैठकले समितिको सहसंयोजकमा सुरेन्द्र पाण्डे, सचिवमा विष्णु रिमाल रहने निर्णय भएको थियो ।
सदस्यहरुमा पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, काशीनाथ अधिकारी, भानुभक्त ढकाल, यमलाल कँडेल, राजन भट्टराई, देवी ज्ञवाली, सीता पौडेल, विनोद श्रेष्ठ, आनन्द पोखरेल, लिला गिरी, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावल रहनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्