काठमाडौं, १२ कात्तिक । संघीय संसदको नवौँ अधिवेशन आज मध्यरातिबाट अन्त्य हुँदै छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै अधिवेशन आज मध्यरातिबाट अन्त्य गर्नुभएको हो । गत २३ भदौबाट नवौँ अधिवेशन सुरु भएको थियो । तर, सुरुकै बैठकबाट एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमाले सांसदहरू रोष्ट्रमअगाडि उभ्भिएर नाराबाजी गरेका थिए ।
तर, एमाले सांसदहरूको नाराबाजीलाई बेवास्ता गर्दै सभामुख सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराउँदै आउनुभएको थियो । सोही क्रममा आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र उठाउने विधेयकजस्ता विधेयक पारित गरेको छ । तर, पारित र स्वीकृत भएका विधेयक, प्रस्तावहरूमाथि घनिभूत रूपमा छलफल गराउन भने प्रतिनिधिसभा चुकेको छ ।
नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालबाहेकका सांसदहरू छलफलमा सहभागी भएनन् । प्रतिपक्षी सांसद नाराबाजीमै रहे पनि सरकार समर्थित सांसदहरू हतारमै विधेकय पारित गराउन लागि परेका थिए । अन्ततः ४८ दिनमै संघीय संसदको दुवै सदनको अधिवेशन शुक्रबार मध्यराति १२ बजेबाट अन्त्य हुने जानकारी संसद सचिवालयले सांसदहरूलाई जानकारी गराएको छ ।
सचिवालयले जारी गरेको सूचना
सम्माननीय राष्ट्रपतिज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा ९२० बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८–०७–११ को सिफारिसमा संघीय संसदको दुवै सदनको चालू अधिवेशन , सम्वत् २०७८ साल कार्तिक १२ गते शुक्रबार राती १२ः०० बजेदेखि अन्त्य भएकोले मिति २०७८ साल कार्तिक ११ गतेको प्रतिनिधि सभाको बैठकबाट कार्तिक २९ गते सोमबारका लागि तोकिएको प्रतिनिधि सभाको बैठक र मिति २०७८ साल असोज २५ गते सोमबार बसेको राष्ट्रिय सभाको बैठकबाट अर्को सूचनाद्वारा तोकिने मिति र समयमा बस्ने गरी स्थगित गरिएको राष्ट्रिय सभाको बैठक समेत अन्त्य हुने भएकोले क्रमशः प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ३ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश र राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ३ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम दुवै सभाका मा. सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
डा. भरतराज गौतम
संघीय संसदको महासचिव













प्रतिक्रिया दिनुहोस्