लन्डन, १३ कात्तिक । बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीलाई वैदेशिक लगानी ल्याउन आह्वान गर्नुभएको छ । नेपाली दूतावास लन्डनमा शनिबार बिहान एनआरएन युकेले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले उक्त आह्वान गर्नुभएको हो । ‘एनआरएनएलाई वैदेशिक लगानी ल्याउनका लागि सरकारले लगानीमैत्री वातावरण बनाएको छ’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘अरू के सुविधा चाहिन्छ, त्यो दिन म तयार छु ।
एराइबल भिसाको सुविधा उपलब्ध गराइसकेको छ । भिसाका लागि झन्झट गर्नु पर्दैन ।’ अब नेपालबाटै भिसा लिन सकिने प्रधानमन्त्री देउवाले बताउनुभयो । उहाँले भूपू गोर्खाको समस्या समाधानका लागि पनि आफू लाग्ने बताउनुभयो । एनआरएनएले माग गरेजस्तो नेपाली नागरिकता प्राप्त गर्न संविधान नै बदल्नुपर्ने देउवाको भनाइ छ । त्यो तत्काल सम्भव नहुने देउवाले बताउनुभयो ।
त्यसअघि एनआरएनए युकेले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको थियो । भूपू गोर्खा समस्या, नागरिकताको निरन्तरता, नेपाल–बेलायत हवाई सेवा, लगानीमैत्री वातावरण र बेलायतमा नेपालीहरू राखेको पैसा उच्च ब्याजमा नेपालमै राख्न पाउने र लैजान पाउने सहज वातावरण निर्माणका लागि आग्रह गरिएको ज्ञापनपत्रमा उल्लेख गरिएको थियो । कार्यक्रममा गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्मालगायत एनआरएनए युकेका पदाधिकारीको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्