जनता टाइम्स

१४ कार्तिक २०७८, आईतवार १३:४०

शम्भु थापाको आरोप : कालो कोट र पैसा बाँडियो


काठमाडौं, कात्तिक १४ । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा न्यायालय हाँक्न असक्षम रहेको बताउनु भएको छ । आफूहरुले संवैधानिक प्रक्रियाअनुसार प्रधानन्यायाधीश असक्षम छन् भनेरै राजीनामा मागेको उल्लेख गर्दै थापाले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने बताउनु भयो । ‘नेपाल बार फर्किँदैन । उहाँ अब कति बस्नुहुन्छ, एक वर्ष ? कार्यकालभरी आन्दोलन गर्छौं । हामी छोड्दैनौं,’ सर्वोच्च अदालत परिसरमा बारको कालोपट्टी विरोध कार्यक्रममा थापाले भन्नुभयो ।

राजीनामा नदिए महाभियोग लगाउनुपर्ने भन्दै थापाले राजनीतिक दलहरु अहिले परीक्षामा रहेको बताउनु भयो । ‘इजलासमा बस्दिन भनेर घोषणा गरिसकेपछि इजलास चलाउन नसक्ने यी प्रधानन्यायाधीशलाई हामीले प्रधानन्यायाधीश मानिराख्नुपर्ने अवस्था छैन, जति सेवाग्रही मारमा छन्, त्यति नै हामी पनि मारमा छौं ,’ थापाले भन्नुभयो ।

थापाले बारको आन्दोलन विथोल्न गोप्य रुपमा कालो कोट र पैसा बाँडिएको आरोप लगाउँदै सार्वजनिक रुपमा बाहिर आएका प्रधानन्यायाधीशलाई पद बस्न नदिने चेतावनी दिनुभयो । ‘अदालतभन्दा पनि बार ठूलो । न्यायालयको संरक्षण गर्न बारले राजीनामा मागिसक्यो भने तपाई को हो राजीनामा नदिने ?’ थापाले भन्नुभयो, ‘प्रतिकार गर्ने नाउमा कालो कोट बाँडिएको छ । पैसा बाँडिएको छ । पत्रकारलाई अन्य प्रकारले लोभ लालचमा फसाउन खोजिएको छ । कार्यक्रम गर्न खोजिएको छ भन्ने कुरा वस्तुनिष्ठ थाहा पायौं भने तपाईलाई त्यो पदमा बस्न दिन्नौ भन्ने घोषणा गर्छौं । हाम्रो विनम्र अनुरोध छ, यसमा यो त्यो गरेर नखेल्नुस् ।’

थापाले प्रशासनका मुख्य रजिष्ट्रार लगायत रजिष्ट्रार र अरु कर्मचारीलाई पनि प्रधानन्यायाधीशविरुद्ध एक हुन आग्रह गर्नुभयो । आफूहरुले संवैधानिक प्रक्रियाअनुसार प्रधानन्यायाधीश असक्षम छन्, राजीनामा दिनुपर्‍यो भनेको उल्लेख गर्दै थापाले भन्नुभयो, ‘अब उनले ममा के के असक्षमता छन् सुनुवाइ गरौ भन्नुहुन्छ भने पूर्वन्यायाधीश, उहाँले छानेका न्यायाधीशहरु राखेर इजलास राखौ । उहातिर हामी एकतिर तयार छौं ।’