जनता टाइम्स

१५ कार्तिक २०७८, सोमबार १९:०८

देउवालाई जसरी पनि हटाउनुपर्छ : प्रकाशमान सिंह


चितवन, कात्तिक १५ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतान्त्रिक पार्टीभित्र नेतृत्वले अलोकतान्त्रिक गतिविधि गर्दा काँग्रेस कमजोर भएको भन्दै सभापति शेरबहादुर देउवालाई जसरी पनि हटाउनै पर्ने बताउनु भएको छ । कांग्रेस जिल्ला कार्यसमिति चितवनले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले यस्तो बताउनु भएको हो ।

‘नेतृत्वले अलोकतान्त्रिक काम गर्दा पार्टीले अहिलेको दुर्दशा भोग्नु परेको छ । लोकतान्त्रिक पार्टीभित्र नै अलोकतान्त्रिक गतिविधि भइरहेको छ,’ सिंहले भन्नुभयो । नेता सिंहले वर्तमान सरकारले जनताको भावना र इच्छाअनुसार काम गर्न नसकेको ठोकुवा पनि गर्नुभयो । १३औं महाधिवेशन भएको दुई महिनाभित्रमा गठन हुनुपर्ने विभागहरु गठन हुन नसक्दा महाधिवेशन समयमा नै सम्पन्न गर्न नेतृत्व असफल भएको तर्क गर्दै सुरुदेखि नै नेतृत्व विधि विधानविपरीत काम गर्न लागि परेको उहाँले आरोप लगाउनु भयो ।

विधानअनुसार काम गर्न नसक्दा अझै पनि पार्टी महाधिवेशन हुनेमा कार्यकर्ताले आंशका व्यक्त गरिरहेको उनले सुनाए । यही अवस्था रहिरहे भविष्यमा कांग्रेस कहाँ छ भनेर खोज्नुपर्ने अवस्था आउने र कांग्रेस प्रजा परिषद्को बाटोमा जाने चेतावनी पनि सिंहले दिनुभयो । पार्टीमा क्रियाशील विवाद समाधान गर्न गठन भएका विभागहरुलेसमेत उल्लेखनीय काम नगरेको उहाँको आरोप छ ।

संस्थापक नेताहरुले निर्माण गरेको कांग्रेसको छविलाई रक्षा गर्न सकौला कि नसकौला भन्ने प्रश्न आइसकेकोसमेत उहाँले बताउनु भयो । पार्टीलाई संस्थागत रुपमा सञ्चालन गरि शुद्धीकरण र सुदृढीकरण गर्नुपर्ने अहिलेको आवश्यकता रहेको सिंहको भनाई थियो ।

संस्थापक नेताहरुको परिकल्पना र लक्ष्य पूरा गर्न अबको पुस्ता लाग्नुपर्ने आवश्यकता पनि उहाँले औल्याउनु भयो । स्वस्थ प्रतिस्पर्धा गर्न महाधिवेशन निष्पक्ष र धाँधलीरहित हुनुपर्ने समेत सिंहको माग छ । विधि र नियमअनुसार क्रियाशील सदस्यता वितरण गरी सबै कुरालाई पार्टीको विधानअनुसार मिलाउनुपर्ने भन्दै उहाँले कांग्रेसको केन्द्रीय बैठकले पारित गरेका कुराहरु लागु गर्न पनि केही निश्चित व्यक्तिको आदेश चाहिने परिपाटी तत्काल बन्द हुनुपर्ने बताउनु भयो ।

पार्टी राम्रो बनाउन र अस्तित्व जोगाउनको लागि नेतृत्व परिवर्तनको आवश्यकता ‍औल्याउँदै उहाँले वर्तमान नेतृत्वलाई जसरी पनि हटाउनपर्ने बताउनु भयो । गणेशमान र वीपी कोइरालाले बनाएको पार्टी अहिले यो अवस्थामा पुग्दा पनि आवाज किन नउठाएको भनेर आफूलाई कार्यकर्ताले प्रश्न गर्न थालेको भन्दै उहाँले अवदेउवा बोकेर हिडन नसकिने बताउनु भयो ।