जनता टाइम्स

१५ कार्तिक २०७८, सोमबार २१:२१

यो सरकार लुतो लागेको कुकुरजस्तो खुइलिँदै जान्छ : अध्यक्ष ओली


काठमाडौ, १५ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले समय बर्बाद गरेको टिप्पणी गर्नुभएको छ । आन्तरिक भागवण्डा मिलाउन नसकेर तीन महिनासम्म सरकार विस्तार गर्न नसकेको उहाँको भनाई थियो । ‘यी पञ्चमुखीहरु खान बसेका छन् । देशलाई अल्मल्याएका छन् । तीन महिनामा सरकार बन्न सक्दैन ।

अलिक पछाडि आफैं ढले अचम्म मान्नुपर्दैन’ उहाँले भन्नुभयो । यो सरकार दिनदिनै लुतो लागेको कुकुरजस्तो खुइलिँदै जाने उहाँको तर्क छ । ‘हामी सरकार ढाल्नतिर लाग्दैनौं । हामीले चाह्यौ भने ७ दिनमा ढाल्दिन्छौं । तर यो सरकार आफै खुइलिँदै जान्छ । यता मिलाएको छ, उता मिलाएको छ । समय बर्बाद गरेको छ’, उहाँले भन्नुभयो ।

ओलीले सत्ता गठबन्धन अब चुनावबाट भाग्न नपाउने पनि उल्लेख गर्नुभयो । ‘चुनावबाट कहिलेसम्म भाग्लान ? दुईपटक भागे । अब आफै चुनाव गराउनुपर्छ । स्थानीय चुनावमा यिनीहरुलाई घोडाले पछारेझै पर्छानुपर्छ’, उहाँले भन्नुभयो ‘यस (भरतपुर) महानगरमा अरुले उम्मेदवार हाल्ने मन लाग्ने हाल्छ । तर जित्ने एमाले हो । नेकपा एमाले कुटाकुट गर्ने बार हो र ? लोकतान्त्रिक पार्टी हो ।