जनता टाइम्स

१७ कार्तिक २०७८, बुधबार १२:२१

एनआरएनएले गरायो तत्काल निर्वाचन गर्ने बाटो खोल्न परराष्ट्र सचिवको ध्यानाकर्षण


लन्डन, कात्तिक १७ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेमराज शर्माले संघको १०औं महाधिवेशन तथा निर्वाचनको बाटो खोल्न परराष्ट्र मन्त्रालयको ध्यानार्कण गराउनु भएको छ । महासचिव शर्माले बेलायत भ्रमणमा रहेका परराष्ट्र सचिव भरतराज पौडेललाई लन्डनस्थित नेपाली दूतावासमा भेटेर यस्तो आग्रह गर्नुभएको हो ।

उहाँले संघ निर्वाचन गर्न आतुर रहेको जानकारी पनि दिनुभयो । शर्माले संघको निर्वाचन रोकिँदा विश्वव्यापी रूपमा अन्योल कायम रहेको बताउँदै तत्काल निर्वाचनको वातावरण बनाउन आग्रह गर्नुभयो । परराष्ट्र मन्त्रालयको ठाडो हस्तक्षेपपछि संघको १०औं महाधिवेशन रोकिएकाले शर्माले परराष्ट्र सचिवको ध्यानार्कषण गराउनु भएको हो ।

सचिव पौडेलले आफू कर्मचारी भएकाले आफ्नो दायराभित्र रहेर सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले संघको निर्वाचन र महाधिवेशनको लागि शुभकामना पनि दिनुभयो । गत महिनाका लागि तय भएको संघको निर्वाचन पुनः ३० नोभेम्वरमा गर्ने वातावरण बनाउन संघका अध्यक्ष कुमार पन्तलाई जिम्मेवारी दिइएको छ । संघभित्र प्रतिनिधि छनोटमा देखिएको विवाद मिलाउन अनौपाचारिक छलफल जारी रहेको संघले जनाएको छ ।