जनता टाइम्स

१७ कार्तिक २०७८, बुधबार १८:१०

कल्याण श्रेष्ठको स्वीकारोक्ति : परमादेशपछि राज्यका तीनै अंगमाथि अविश्वास र वितृष्णा बढ्यो


काठमाडौं, कात्तिक १७ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले यतिबेला राज्यका तीनै अंगमाथि अविश्वास र वितृष्णा बढेको स्वीकारोक्ति गर्नुभएको छ । ब्यक्ति किटान गरेर प्रधानमन्त्री नियुक्त गर्ने सर्वाेच्च अदालतको परमादेशपछि मुलुकको सवै अंग अस्तब्यस्त बनेको महसुस आम नागरिकले गरिरहेको बेला सो फैसलाका पक्षधर रहनुभएका पूर्वप्रधानन्यायाधीश श्रेष्ठले त्यो भन्दा अघि बढेर राज्यका तीनै अंगमाथि अविश्वास र वितृष्णा बढेको बताउनु भएको हो ।

‘आज कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका कतै पनि सन्तोष गर्ने ठाउँ छैन । तीनै तहका सरकारमा हेर्यो भने समस्याग्रस्त देखिन्छ । संविधान त राम्रै बनाएको भनेको हो । राम्रो बनाएको संविधानको राम्रो भोग हुनुपर्यो नि । । राम्रो कानुन, राम्रो नतिजा हुनुपरयो नि,’ श्रेष्ठले भन्नुभयो, ‘आज राज्यका तीनै अंग (कार्यपालिका, ब्यवस्थापिका, न्यायपालिका) माथि अविश्वास र वितृष्णा बढेको छ,’ श्रेष्ठले भन्नुभयो ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको यो भनाईले परमादेशपछि मुलुक अस्तब्यस्त बनेको चित्रण गर्दछ । उहाँले राम्रो देखाउन संविधान नलेखेको भन्दै राम्रो भोग देखाउन लेखेको पनि बताउनु भयो । ‘कार्यान्वयन गर्न लेखेको हो । खै गरेको ? दलहरुले जवाफदेहिता देखाउनुपर्दैन ?’ श्रेष्ठले प्रश्न गर्नुभयो । श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवारामाथि भने खनिनु भयो ।

वर्तमान प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको ’कल्याण श्रेष्ठ क्षमता भएर पनि विवेक नभएको मान्छे’ भन्ने टिप्पणीको जवाफ फर्काउँदै श्रेष्ठले विवेकको विषयमा आफूले दाबी नगर्ने प्रष्ट पार्नुभयो । ‘मेरो विवेकमा प्रश्न आएको छ । विवेकमा प्रश्न गर्ने कोही कोही निस्केको छ । म विवेकमा दाबी गर्दिनँ । म विवेकशील मान्छे हुँ भनेर धेरै ठूलो दाबी गर्दिनँ’, काठमाडौंमा आज आयोजित पुस्तक विमोचन कार्यक्रममा श्रेष्ठले भन्नुभयो, ‘मैले जिन्दगीमा गरेका निर्णयहरूमा कति विवेक पुग्यो होला, पुगेन होला, त्यो जनताको माझमा छ, जनताले नै निर्णय गर्न सक्छ ।’

विवेकको विषय धेरै ठूलो दाबी गर्ने विषय आफूलाई नलाग्ने उहाँको भनाइ छ । ‘विवेकको सवालमा सकेसम्म विवेकशील अभ्यास गर्ने हो । विवेकको दाबी गरेर स्वामित्व ग्रहण गर्ने विषय होइन । विवेकमा शंकराचार्य चुडामणिको कुरा गर्नुपर्छ । विवेकमा चाहिने सत्यको सार्वभौमिकता हो । सत्यको सार्वभौमिकतालाई मनन गर्दै निर्णय गर्न सक्नुभयो भने तपाई चुक्नुपर्ने कुनै ठाउँ हुँदैन,’ श्रेष्ठले भन्नुभयो ।