जनता टाइम्स

१९ कार्तिक २०७८, शुक्रबार २२:१४

दियोबाट सल्कीएको आगोले लियो ४ एकै परिवारका चार जनाको ज्यान


काठमाडौं, १९ कार्तिक । मंगलबजारस्थित ताम्राकार परिवारको एउटा घरमा शुक्रबार राति म्ह पूजा भइरहँदा लागेको आगोमा एकै परिवारका चार जनाको मृत्यु भएको छ। दुई जना गम्भीर घाइते छन्।ललितपुर महानगरपालिका–१२ स्थित मंगलबजार, चक्रबहीको घरमा शुक्रबार ६ बजेर ४५ मिनेट जाँदा यो दुर्घटना भएको हो। महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनका अनुसार उनीहरू तेस्रो तलामा म्ह पूजा गर्दै थिए। दोस्रो तलाको झ्यालमा दियो बालेर राखिएको थियो। त्यही दियोको आगोले सबभन्दा पहिला झ्यालको पर्दा टिप्यो।

परिवारका सबै जना माथिल्लो तल्लामा पूजामा व्यस्त रहेकाले तल्लो तल्लाबाट आगो सल्किन थालेको कसैले चाल पाएनन्। पर्दामा लागेको आगो ह्वारह्वार्ती दन्किन थाल्यो। पुरानो घर भएर पनि होला त्यसले एक्कासि माथिल्लो तल्लालाई पनि टिप्यो, प्रहरी उपरीक्षक महर्जनले भन्नुभयो । साढे तीन तलाको पुरानो घरमा आगो सल्किँदै माथिल्लो तल्लामा पुगेपछि भान्छामा रहेको ग्यास सिलिन्डर पड्किएको उहाँले बताउनुभयो । आगो लागेको घर लक्ष्मीकृष्ण ताम्राकारको हो।

मृत्यु हुनेमा ६८ वर्षीय लक्ष्मीकृष्ण, उनकी ३५ वर्षीया छोरी अन्जना, ३५ वर्षकी बुहारी रत्ना र १० वर्षका नाति निर्जल रहेको मंगलबजार प्रहरी प्रभागले जनाएको छ। छोरा ४२ वर्षका निरज ताम्राकार र ३२ वर्षकी कान्छी छोरी सिर्जना ताम्राकार घाइते छन्। सिर्जनाको अवस्था गम्भीर छ।घटनास्थल पुगेका प्रहरीका अनुसार उक्त घरमा १० जना व्यक्ति थिए।घाइतेहरूलाई उपचारका लागि पाटन अस्पताल पठाइएको छ।