जनता टाइम्स

२० कार्तिक २०७८, शनिबार ०८:५३

बालगोपालेश्वरमा बिहानैदेखि भाइटीका


काठमाडौं, २० कार्तिक । तिहार अर्थात यमपञ्चकको आज पाँचौ दिन भाइटीका परेको छ । यस अवसरमा काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउन सुरु गरिएको छ ।दिदीबहिनी नहुनेका लागि हरेक वर्ष भाइटीकाको दिन रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ ।

यस वर्ष पनि मन्दिर खुला भएकोले बिहानैदेखि व्यवस्थित रुपमा टीका लगाइएको छ ।बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुने भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।भूकम्प र कोरोना महामारीका कारण पछिल्ला केही वर्षमा भने बालगोपालेश्वर मन्दिरमा भाइटीका प्रभावित भएको थियो ।

विसं २०३५ पछि नियमितरुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । छ वर्षअघिको गोरखा भूकम्पले बालगोपालेशवर मन्दिर क्षतिग्रस्त बनेपछि गत वर्षसम्म खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवं दाजुभाइ नहुने भक्तजनको भीड लाग्न थालेको हो । बालगोपालेश्वर मन्दिर भूकम्पपछि गत वर्षदेखि मात्र भक्तजनका लागि पुन स् खुला गरिएको हो ।

भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रुपमा मनाउँछन् । गत वर्ष नेवार समुदायले किजापूजाका रुपमा मनाउने भाइटीका तिथि घटबढका कारण भोलिपल्ट परेको थियो । यस वर्ष भने एकै दिन परेको जनाइएको छ ।