जनता टाइम्स

२१ कार्तिक २०७८, आईतवार २१:२९

नाछिरिङको मुन्धुम घर निर्माणका लागि काठमाडौंमा खेलियो देउसी


खोटाङ, २१ कात्तिक । काठमाडौंमा रिदुम खिम (मुन्धुम घर) निर्माणका लागि नाछिरिङ राई समुदायले देउसी खेलेका छन् । गोकर्णेश्वर नगरपालिकाको गोकर्ण उत्तरगयामा रिदुम खिम (मुन्धुम घर) निर्माणका लागि किरात रदु नाछिरिङ साखाम केन्द्रले देउसी खेलेका हुन् । साखामको कार्यालय नारायणचोक, अतिथि किचन, कपनमा आइतबार आयोजना गरिएको देउसीबाट भवन निर्माणका लागि २ लाख ६९ हजार ८४० रुपैयाँ रकम संकलन भएको किरात रदु नाछिरिङ साखाम केन्द्रका महासचिव गान्धिव किरातीले बताउनुभयो ।

देउसीको दानबाट १ लाख १४ हजार ४८०, सोलु सोताङ गाउँपालिका अध्यक्ष वीरबहादुर नाछिरिङबाट १ लाख र साखामका आजीवन सदस्य सोताङ–१ निवासी निरकुमार नाछिरिङबाट ५ हजार दान प्राप्त भएको छ । यस्तै, सोताङका हरिबाबु राई नाछिरिङबाट ५० हजार सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको साखामले जनाएको छ ।

जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख वीरकुमार नाछिरिङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सोलु सोताङ गाउँपालिका अध्यक्ष नाछिरिङ, ऐसेलुखर्क गाउँपालिका उपप्रमुख पुष्पकला भुजेल लगायतको उपस्थिति रहेको थियो ।

किरात रदु नाछिरिङ साखाम केन्द्रका लागि २ करोड २८ लाख ५४ हजार ९२५ रुपैयाँको लागतमा साँढे तीन तले रिदुम खिम निर्माणको तयारी गरिएको छ । किरात नाछिरिङ राईको सामुदायिक हित, भाषा, संस्कार, संस्कृति, विकास, संरक्षण एवं प्रर्द्धनका लागि रिदुम खिम निर्माण गर्न लागिएको हो ।