जनता टाइम्स

२२ कार्तिक २०७८, सोमबार ०७:५६

गृहमन्त्री बालकृष्ण खाणको देउवासंग टकराव बढ्दै : २४ घण्टामै निर्णय बदर


काठमाडौँ,२२ कार्तिक । यही कात्तिक ९ गते गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहको काज सरुवा गर्ने निर्णय भयो ।

मन्त्रालयले गरेको सरुवामा सिंहलाई हटाएर एसएसपी सुदीप गिरीलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी दिइएको थियो । तर, त्यो निर्णय २४ घण्टा पनि टिकेन । २४ घण्टामै सो निर्णय बदर भयो । गृहमन्त्रीको आदेशमा एसएसपीको सरुवा भए पनि बालुवाटारको निर्देशनमा प्रहरी प्रधान कार्यालयले सरुवाको पत्र सार्वजनिक गरेन । प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री खाँणलाई सरुवाको निर्णय कार्यान्वयन नगर्न भनेपछि सरुवाको पत्र लुकाइएको हो ।

प्रधानमन्त्रीकै पार्टीका नेता हुन् गृहमन्त्री खाँण । पार्टीभित्र देउवाका प्रिय पात्र मानिने खाँणले प्रधानमन्त्रीको सल्लाहबिनै निर्णय गर्न थालेपछि बालुवाटार रुष्ट बनेको बताइन्छ । सुरक्षा निकायको सरुवा–बढुवामा प्रधानमन्त्रीको प्रत्यक्ष चासो रहन्छ । कात्तिक दोस्रो साता नेपाल प्रहरीमा आठ डीआईजी र १५ एसएसपी थप्ने गृह मन्त्रालयको प्रस्ताव अर्थ मन्त्रालयले अस्वीकार ग¥यो । सिंहदरबारमा बसेको गृह तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरूको व्यवस्थापन तथा सर्वेक्षण समितिको बैठकमा अर्थ मन्त्रालयले डीआईजी र एसएसपी बढाउन प्रस्ताव गरिएको संख्यामा सहमति दिन नसकिने जनाएको हो ।

डीआईजी र एसएसपीको दरबन्दी बढाउने प्रस्तावमा सामान्य छलफल नै नगरिएकाले अर्थका अधिकारी रुष्ट बनेको बताइएको छ । तर, खासमा सो प्रस्तावमा प्रधानमन्त्री सकारात्मक नभएपछि रोकिएको बताइन्छ ।यी दुई उदाहरण मात्रै हुन । पछिल्लो समय प्रधानमन्त्री देउवा र गृहमन्त्री खाँणबीच टकराव बढेको पाइन्छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीहरू यो कुरा स्वीकार गर्छन् । सशस्त्रको तुलनामा नेपाल प्रहरीमा गृहमन्त्री र बालुवाटारको दबाब बढ्दै गएको पाइन्छ । उच्च प्रहरी अधिकारीहरू भन्छन्, “बालुवाटारबाट प्रधानमन्त्रीकै निकटस्थहरूबाट अधिकृतहरूको सरुवाको दबाब आउँछ ।

गृहमन्त्रीबाट बेग्लै कुरा आउँछ । यस्तोमा काम गर्न निकै गाह्रो छ । यसले प्रहरी संगठनको हित गर्दैन । प्रहरी प्रधान कार्यालयबाटै हुने कुरामा पनि कतिपय अवस्थामा गृहबाट ‘नगर्नू’ भनेर दबाब आउने गरेको छ ।” गृहमन्त्री र बालुवाटारको दोहोरो आदेशका कारण त्यसको असर तल्लो तहसम्म पुगेको छ । एसपीसम्मको सरुवाको अधिकार आईजीपीलाई हुन्छ । तर, सई र इन्स्पेक्टरको सरुवा गर्न पनि प्रहरी प्रधान कार्यालयलाई समस्या परेको छ । गृहमन्त्रीकै निर्देशनमा प्रहरीका लेखापालहरूको सरुवा समेत रोकिएको छ । १५ महिना बितिसक्दा पनि प्रहरीका लेखापालहरूको सरुवा हुनसकेको छैन ।