जनता टाइम्स

२२ कार्तिक २०७८, सोमबार ०७:४२

आज विश्वासको मत लिँदै बागमतीका मुख्यमन्त्री पाण्डे


हेटौंंडा, कात्तिक २२ । सत्ता गठबन्धनबाट बागमती प्रदेश मुख्यमन्त्री बनेका नेकपा ९एकीकृत समाजवादी०का नेता राजेन्द्रप्रसाद पाण्डे आज सोमबार विश्वासको मत लिने हुनुभएको छ । त्यसका लागि दिउँसो ३ बजे प्रदेशसभाको बैठक बस्दैछ ।

स्पष्ट बहुमत नरही नियुक्त हुनुभएका मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार पाण्डेले विश्वासको मत लिन लाग्नुभएको हो । उहाँ गठबन्धनका दल नेपाली कांगेस, माओवादी केन्द्र, र जनता समाजवादी पार्टी नेपालको समर्थनमा ११ कात्तिकमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

हाल मुख्यमन्त्रीसहित चार सदस्यीय मन्त्रिमण्डल छ । मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने योजना छ ।

१ सय ९ सिट रहेको प्रदेशसभामा बहुमतका लागि ५५ सांसद आवश्यक हुन्छ । गठबन्धनबाट मुख्यमन्त्री बन्नुभएका पाण्डेको पक्षमा ५९ जनाको हस्ताक्षर छ ।

एमालेको ४३, माओवादी केन्द्रको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुई-दुई तथा जसपाको एक सिट छ ।