जनता टाइम्स

२२ कार्तिक २०७८, सोमबार १३:३८

एमाले नेता थापालाई बज्रपातः श्रीमती बितेको ११ दिनमा छोरीको मृत्यु, छोरा पनि अस्पताल भर्ना


काठमाडौं, २२ कार्तिक । रुपन्देहीका नेकपा (एमाले)का नेता कुमार थापाको परिवारमा पीडामाथी पीडा थपिएको छ । एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य थापाको परिवारले एकपछि अर्को पीडा भोग्नु परेको छ । थापाकी ४२ वर्षीया श्रीमती खुमा बुढा मगर र ३० वर्षकी छोरी कृति थापाको १२ दिनको अन्तरमा अल्पआयुमै निधन भयो ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १२ ढबाहा निवासी थापाकी श्रीमती खुमाको कात्तिक ४ गते बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल र छोरी कृतिको टिचिङ अस्पताल, काठमाडौंमा कात्तिक १५ गते मृत्यु भएको हो । अहिले थापा परिवार शोकमा डुबेको छ । खुमालाई असोज २८ गते साँझदेखि सामान्य ज्वरो आयो । ज्वरो बढ्दै गएपछि २९ गते प्रादेशिक अस्पताल, बुटवलमा चेकजाँच गर्न लगियो । अस्पतालमा उहाँले वान्ता गर्नुभयो । जाँच गर्दा हेमोग्लोबिनको कमी रहेको चिकित्सकले बताए । अस्पतालमै एक घण्टापछि खुमा बेहोश हुनुभएको थियो । त्यसपछि उहाँलाई अस्पतालमै भर्ना गरियो ।

उहाँलाई ३० गते आईसीयूमा राख्नुपर्ने भयो । आईसीयूमै राख्दै गर्दा उनको ‘ब्रेन हेमरेज’ भएको रहेछ । उहालाई भेन्टिलेटरमा राख्नुपर्ने भयो । भेन्टिरमा राखेर उपचारकै क्रममा कात्तिक ४ गते दिउँसो खुमाको मृत्यु भयो । थापाकी छोरी नेपाल राष्ट्र बैंकमा उपसचिव पदमा कार्यरत हुनुहुन्थ्यो। उहा बैंकको सहायक निर्देशक हुनुहुन्थ्यो । गत वर्षको मंसिर २२ गते काठमाडौंको भंगालका रवीन्द्र राजभण्डारीसँग कृतिको विवाह भएको थियो । गर्भवती कृतिलाई पनि कात्तिक पहिलो हप्ता ज्वरो आयो । उहाँको आउँदो मंसिरमा डेलिभरीको मिति थियो । खोकी बढ्दै गयो । नर्भिक अस्पतालमा उहाँको चेकजाँच गर्दा मुटुको भल्भ लिकेज भएको देखियो । कोरोना जाँच गराउँदा उहाँलाई कोरोना पनि पुष्टि भयो । मुटुमा समस्या, त्यसमाथि कोरोना संक्रमण अनि गर्भवती पनि ।

कोरोना देखिएपछि अपरेसन गरेर बच्चा निकाल्नुपर्ने देखियो । नर्भिकले टिचिङ अस्पताल रिफर गर्‍यो । कात्तिक ८ गते अपरेसन गरेर बच्चा (छोरा) जन्म भयो । बच्चा निकाल्न शल्यक्रिया गर्दा बेहोश बनाएकी कृतिको होश खुलेन । उहाँलाई आईसीयूमै राखियो । आईसीयूमा पनि नभएपछि उनलाई भेन्टिलेरट आवश्यक भयो । उहाँलाई भेन्टिलेरमा राखियो । त्यसपछि पनि उहाँको होश खुलेन, अन्ततः कात्तिक १५ गते कृतिलाई पनि अस्पतालले मृत घोषणा गर्‍यो । थापाका दुई छोरा र दुई छोरी छन् । मृत्यु हुने कृति जेठी हुनुहुन्छ । नेकपा एमाले क्षेत्रीय संयोजक तेजेन्द्र केसीले थापा परिवारलाई सहनै नसक्ने बज्रपात परेको बताउनुभयो । आमाको किरिया बसेका जेठा छोरा २७ वर्षका केशन थापालाई पनि मुटुमा समस्या देखिएपछि अहिले गंगालाल अस्पतालमा भर्ना गरिएको छ ।

किरिया बसेका उहालाई ८ दिनको दिन काठमाडौं लगिएको छ । केशन बिरामी भएपछि परिवारले ८ दिनपछि अर्को मान्छे किरियाका लागि राखेर किरिया उम्काएको हो । थापा परिवारका सदस्यहरूमा मुटुको समस्या रहेको बताइएको छ । खुमाको २२ वर्ष अगाडि गंगालाल हृदयरोग अस्पतालमा मुटुको भल्भ फेरिएको थियो । छोरा केशन प्रभु बैंकमा कार्यरत हुनुहुन्छ। अहिले थापा छोराको उपचारकै क्रममा काठमाडौंमा रहनुभएको छ । एमाले सचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले सामाजिक सञ्जालमा लेख्नुभएको छ– ‘अलविदा छोरी कीर्ति , तिम्राबारे यी हरफहरू लेखिरहँदा ज्यादै पीडाबोध भइरहेको छ । कस्तो अकल्पनीय र हृदयविदारक घटना , पीडाका अन्त्यहीन शृंखलासँग जुझिरहनु भएका मित्र कुमार थापा र शोकाकुल राजभण्डारी परिवारमा यो आघात सहन गर्न सक्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थनासहित हार्दिक समवेदना ।’