जनता टाइम्स

२२ कार्तिक २०७८, सोमबार १५:०५

विद्यार्थी नेता अधिकारीको करेन्ट लागेर मृत्यु


हेटौंडा, कात्तिक २२ । विद्यार्थी राजनीतिमा सक्रिय रहेका गिरिजा अधिकारीको आज बिहान करेन्ट लागेर उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरमा करेन्ट लागेर उहाँको मृत्यु भएको हो । नेकपा एकीकृत समाजवादी हेटौंडा उपमहानगरपालिका कमिटीका सचिव रहेका अधिकारीको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

अधिकारीलाई आफ्नै वडामा बाटो निर्माणका लागि बिजुलीको तार पन्छाउने क्रममा करेन्ट लागेको थियो । जेसिवीको बकेटमाथि चढेर तार पन्छाउने क्रममा उहाँले ११ हजार भोल्टेजको तार छुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले बताउनुभयो ।