कैलाली, कात्तिक २२ । कैलालीको चिसापानीमा रहेको इलाका प्रहरी कार्यालयले हिजो आइतवार राति रक्सी खाएर हो–हल्ला गर्दै हिँडेका नेपाली सेनाका एक मेजरलाई पक्राउ गरेको छ ।
प्रहरीले लम्कीचुहा नगरपालिका ३ गोराङ्गेमा रहेको सुदूरपश्चिम पृतना तालिम शिक्षालयका मेजर अशोकजंग शाहीलाई हतियारसहित पक्राउ गरेको हो । रक्सीको नसामा लठ्ठिएका मेजर शाहीले स्थानीयवासीलाई गालीगलौज गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
उनी रातिको समयमा स्थानीय एक होटलमा छिरेका थिए । उनले होटल सञ्चालकलाई गालीगलौज गर्नुका साथै हातपातको प्रयाससमेत गरेका थिए । होटल सञ्चालक हर्क रावलले मेजर शाही रक्सीले लठ्ठिएर आफ्नो होटलभित्र छिरेको बताउनुभयो ।
‘उनी रक्सीले लठ्ठ थिए । होटलमा छिर्नेबित्तिकै मसँग अभद्र व्यवहार गरे । हामी चार जना थियौँ’, रावलले भन्नुभयो, ‘साथीहरूले बाहिर पठाए । त्यसपछि उनी हतियारसहित सडकमा होहल्ला गर्दै हिँडेछन् ।’
होटलबाट निस्केका मेजर शाही शिक्षालय पुगेर एक जना ड्युटीमा रहेका सैनिकलाई लिएर फेरि झन्डै चार किलोमिटर टाढा रहेको चिसापानी बजार पुगेर सर्वसाधारणलाई गालीगलौज गर्दै हिँडेको र केही व्यक्तिलाई हातपातसमेत गरेका स्थानीयवासीले बताएका छन् ।
उनी राइफल समातेर बजारमा डुल्न थालेपछि केहीबेर चिसापानीको माहोल त्रसित बनेको स्थानीयवासीले बताए । उनलाई प्रहरीले घेरा हालेर पक्राउ गरेको थियो ।
स्थानीयवासीले प्रहरीले मेजर शाहीलाई सुरक्षा दिएको भन्दै इलाका प्रहरी कार्यालय चिसापानीमा ढुङ्गामुढा गरेका छन् । उनीहरूले मेजर शाहीलाई कारबाहीको माग गरेका छन् ।
पक्राउ परेका मेजर शाहीले रक्सीको नसाले मात्तिएर गल्ती गरेको भन्दै माफी मागेका छन् । यस्तै स्थानीयवासीले ढुङ्गामुढाबाट क्षति पुगेको प्रहरी कार्यालयको मर्मत गरिदिने बताएका छन् ।
प्रहरीले मेजर शाहीलाई पत्रसहित शिक्षालयमा पठाएको छ । घटनाका बारेमा छानबिन गर्न सुर्खेतमा रहेको पृतनालयले एक टोली चिसापानी पठाएको बताइएको छ ।













प्रतिक्रिया दिनुहोस्