जनता टाइम्स

२३ कार्तिक २०७८, मंगलवार ०७:५६

प्रधानसेनापति शर्मा आज भारत भ्रमणमा जाँदै


काठमाडौँ, २३ कार्तिक । प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि आज नयाँ दिल्ली जाँदै हुनुहुन्छ । भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा उहाँ कात्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमणका लागि जान लाग्नुभएको हो ।

महारथी शर्मालाई सेनाको एक टुकडीले भ्रमणका लागि सोमबार नै बिदाई सम्मान गारतसमेत प्रदान गरिसकेको छ ।भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम छ । उहाँलाई कात्तिक २४ गते बुधबार मानार्थ महारथीको सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाल र भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम परम्परा छ ।नेपालका प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई विसं. २०२६मा पहिलोपटक भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट विभूषित गरेको अभिलेख रहेको जनाएको छ ।नयाँ दिल्ली भ्रमणका क्रममा प्रधानसेनापति शर्माले समकक्षी जनरण नरवणेलगायत भारतीय सेनाका उच्च पदस्थ अधिकारीसँग समेत भेटवार्ता गर्नुहुने छ ।