सत्ताबाट बहिर्गमनपछि एमाले कमजोर हुने आसमा रहेका गठबन्धनका ‘किङ मेकर’ मानिएका प्रचण्ड र माधव नेपाललाई एमालेको सबलीकरणले डर थपिदिएको छ । हिजो एमालेको भोटले वा एमालेको चुनाव चिन्हमा चुनाव जितेका यी नेतालाई चुनाव सुन्नेवित्तिकै ऐंठन हुन्छ । एमालेसंग रहँदा वा मिसिंदा ठूल्ठूला भेला र सभामा भाषण गरेका, शासन चलाएका प्रचण्ड र माधवलाई अहिले नुन नहालेको तरकारी खाएजस्तो भएको छ
निर्मल भट्टराई
नेपालको सबभन्दा ठूलो राजनीतिक शक्ति र नेपालको कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेपाल कम्युनिष्ट पार्टी(एमाले) युद्धस्तरमा आफ्नो दशौं महाधिवेशनको तयारीमा जुटेको छ । एउटा राजनीतिक पार्टी र त्यसमा पनि कम्युनिष्ट पार्टीको जीवनमा महाधिवेशन आफैंमा मेघा इभेन्ट हो, महोत्शव हो । जति महाधिवेशनलाई सर्वसम्मत वा स्वस्थ्य प्रतिस्पर्धाको दृष्टिले, व्यवस्थापनको दृष्टिले, व्यवस्थापनको दृष्टिले र जनसहभागिताको दृष्टिले भव्य बनाउन सकिन्छ, त्यति नै त्यसले पार्टीको भविष्यको निर्धारण गर्दछ ।
वडा र पालिकास्तरका अधिवेशनहरू भव्य, सभ्य र सर्वसम्मत रूपमा सम्पन्न गर्न सफल एमालेले आगामी मङ्सिरको दोस्रो हप्तामा आफ्नो दशौं महाधिवेशनको तयारी गरेको छ । एमाले महाधिवेशनको सन्दर्भमा केही अवान्छित विषयहरू लतारिएर आइरहेछन् । तिनीहरूले एमालेलाई फटाफट आफ्नो गन्तव्यमा हिंडिरहेको यात्रीलाई वेलाबखत बाटोमा काँडाले अल्झाएजस्तो गरिरहेका छन् ।
क. १० बुँदेको बाँसुरी
माधव नेपाल एमालेमै रहेको बेला र एमालेको आन्तरिक विवाद मिलाउन एउटा पार्टीको कार्यदलले पार्टीको विवाद समाधान गर्न १० बुँदे सुझाव दिएको थियो । त्यो सुझाव मान्न तयार नभएर पार्टीबाट माधव समूह उछिट्टिएर नयाँ पार्टी बनाएपछि १० बुँदेको औचित्य लगभग समाप्त भएको थियो । १० बुँदेको सार थियो- पार्टीमा योग्यता, क्षमता र इतिहासको आधारमा सबैलाई यथोचित भूमिका दिएर सबैलाई समेट्नु पर्ने भन्ने थियो । माधव नेपाललगायतका नेताहरूको ‘दुखेको मन’ बुझाउनु पर्ने भन्ने थियो । विगतमा माधव नेपाललाई साथ दिएका १० नेताले पार्टी विभाजन गर्न माधव नेपाललाई साथ नदिने विषय एमाले पङ्क्तिमा जति स्वभाविक रूपमा लिइयो, बाहिर त्यसलाई कतै आश्चर्य र कतै विस्मात्को रूपमा लिइयो । नवौं महाधिवेशनमा के पी शर्मा ओलीसंग थोरै मतान्तरले पराजित नेता माधव नेपाल एमालेबाट बाहिरिंदा एमाले विचमा चिरेको स्याउजसरी विभाजन हुने अपेक्षा बोकेर बसेकाहरूमा बडो विस्मात् भयो । एमाले विभाजन भएन, केवल चोइटियो ।
आफूलाई मूलधार मेडियाको दावी गर्ने एमालेविरोधी मेडियाको खेती शुरू भयो- ओलीले १० बुँदे लागू नगर्ने भए ! भीम रावललगायतका नेतालाई पेल्ने भए । पाखा लगाउने भए । आदि । एमालेमा वडा र पालिकास्तरको अधिवेशनमा १० बुँदे पूर्णरूपेण कार्यान्वयन भइसकेको छ । सर्वसम्मतिमा नेतृत्व चयन हुनुभन्दा ठूलो यसको प्रमाण केही हुन सक्दैन ।
एमालेको दशौं महाधिवेशन आँगनमा आइपुगेको छ । एमालेको महाधिवेशन सम्पन्नसंगै १० बुँदेका कथाकुथुङ्ग्री पनि सकिने छन् किनभने एमालेका महाधिवेशन प्रतिनिधिहरू को नेतालाई कहाँ राख्ने भन्ने राम्रो हेक्का राख्दछन् । नेताभन्दा कार्यकर्ता विवेकी भएको कारण नै एमालेलाई ठूल्ठूला हुरी हुण्डरीले पनि हल्लाउन नसकेको हो । ढुक्कसंग भन्न सकिन्छ,एमालेको दशौं महाधिवेशनले १० बुँदे सुझावलाई सृजनात्मक रुपमा अनुमोदन गर्नेछ, लागू गर्नेछ ।
एमालेविरोधीहरूलाई १० बुँदे भड्काएर अझै पनि एमालेमा विखण्डन ल्याउन सकिन्छ कि भन्ने लागिरहेको छ । ओली र भीम रावलवीचमा वेलाबखत हुने सामान्य नोचघोचलाई तिलको पहाड बनाउँदा एमालेलाई कमजोर बनाउन सकिन्छ कि भन्ने लागिरहेको छ । तर एमाले निकै पर पुगिसकेको छ । उसको अर्जुनदृष्टि विभाजनको असरलाई न्यूनीकरण गर्ने, अरू वाम पार्टीमा रहेका राम्रा नेता कार्यकर्तालाई बढी से बढी एमालेमा समाहित गराउने र दशौं महाधिवेशनमार्फत् आफ्नो आन्तरिक एकतालाई थप सुदृढ गर्नेमा रहेको देखिन्छ ।
ख. सत्ता गठबन्धनको ओली फोविया
सर्वोच्चको परमादेशबाट सत्तामा पुगेको पाँच दलीय गठबन्धन सत्ता प्रभावकारी ढङ्गले सञ्चालन गर्ने, जनतालाई राम्रो डेलिभरी दिनेभन्दा पनि एमालेलाई घेराबन्दी गरेर उसलाई कमजोर बनाउने खेलमा उद्दत रहेको देखिन्छ । २० प्रतिशतवाला अध्यादेश ल्याएर एमाले विभाजन गराउने, गठबन्धनलाई प्रदेश हुँदै स्थानीय तहसम्म विस्तार गर्ने, ओलीले शुरू गरेका राम्रा आयोजनालाई खारेज गर्ने, न्यायालयमा भद्रगोल गर्ने र आरोप ओली सरकारलाई लगाउनेजस्ता काम गठबन्धनले गरिरहेछ । सत्ताबाट बहिर्गमनपछि एमाले कमजोर हुने आसमा रहेका गठबन्धनका ‘किङ मेकर’ मानिएका प्रचण्ड र माधव नेपाललाई एमालेको सबलीकरणले डर थपिदिएको छ । हिजो एमालेको भोटले वा एमालेको चुनाव चिन्हमा चुनाव जितेका यी नेतालाई चुनाव सुन्नेवित्तिकै ऐंठन हुन्छ । एमालेसंग रहँदा वा मिसिंदा ठूल्ठूला भेला र सभामा भाषण गरेका, शासन चलाएका प्रचण्ड र माधवलाई अहिले नुन नहालेको तरकारी खाएजस्तो भएको छ ।
एमाले सोचेजसरी विभाजन नभएकोले देउवा र बाबुरामजस्ता दक्षिणपन्थीहरू चिन्तित छन् । एमालेजनहरू माधव नेपालको पार्टीमा नगएकोमा क्षुब्ध छन् । उनीहरूको व्यवहार त एउटी बुढी आमा र तरूनी छोरीको किस्साजस्तै छ । असारमा खेती लगाउने बेलामा छोरी आमालाई सोध्छे- ‘आमा यसपाली बाली लगाउने कि के गर्ने ?’ आमा भन्छिन्-‘ किन लगाउनु पर्योल बाली? म मरी जान्छु, तँ पोइल गइहाल्छेस् ।’बारी बाँझै बस्छ । बाली पाक्ने बेलासम्म न आमा मर्छिन् न छोरी पोइल जान्छे । उनीहरू भोकै पर्छन् । ठीक त्यसरी नै एमाले फुटिहाल्छ, हामी जितिहाल्छौं भनेर आफ्नो काम नगरी बसेको सत्तारुढ काङ्ग्रेस यस्तै सङ्कटमा छ । जसपाको पनि हालत सुध्रिएको छैन ।
अहिले एमाले इतर बाम नेताहरू एमालेको निकै चिन्ता र चासो गर्दैछन् । कोही ओली सत्ता बाहिर पुगेकोमा खुच्चिङ् गर्दैछन् । कोही भीम रावल ओली र एमालेप्रति नरम भएकोमा अप्रशन्न छन् । कसैलाई एमालेले चितवनमै किन महाधिवेशनस्थल रोज्यो भन्नेमा मन उद्वेलित भएको छ । आफ्नो पार्टी र आफ्नोबारेमा चिन्तित हुनु पर्ने नेताहरू एकाएक एमालेको चौविसै घण्टा चियोचर्चोमा विताउन थाल्नु एमालेको लागि त शुभ सङ्केत नै हो । एमालेको आकार र आयतन बढ्दै गरेको पूर्व जानकारी हो । आखिर सहरको विचमा हात्ती लस्किएको एकपटक कसले हेर्दैन र ? अझ कुकुरहरू त सङ्गठित भएर भुक्छन् पनि । त्यसले उसको लस्काइलाई कुनै फरक पार्दैन ।
ग. विजातीय गठबन्धनको हुँकार
नेकपा(एमाले)लाई सत्ताबाट गिराउन बनेको सत्तारुढ विजातीय गठबन्धनले ‘एमालेलाई मिलेर बढार्ने’ हुँकार गर्दैछ । कुनै पनि निर्वाचनमा एक्लाएक्लै लडेर एमालेलाई हराउन नसकिने उनीहरूको आवाज सुनिदैछ । एमालेजस्तो राष्ट्रवादी शक्तिलाई हराउन देशीविदेशी चलखेलको गन्ध आउन थालेको छ । तर राष्ट्रवादी र परिवर्तनकारी नेपाली जनताले विगतदेखि नै यस्ता षणयन्त्रलाई चकनाचुर पारेर एमालेलाई देशको प्रमुख शक्तिको रूपमा स्थापित गर्दै आएका छन् । विगतको स्थानीय निर्वाचनमा एमालेविरोधी काङ्ग्रेस-माओवादी गठबन्धनलाई एमालेले नराम्ररी परास्त गरेकै हो । एमाले तलदेखि माथिसम्म चुस्तदुरुस्त भएको अवस्थामा यस्तो ओखर-पाङ्ग्रे गठबन्धनको कुनै जोर नचल्ने निश्चित छ ।














प्रतिक्रिया दिनुहोस्