जनता टाइम्स

२४ कार्तिक २०७८, बुधबार १३:५५

हेलम्बुमा बस दुर्घटनाः एकको मृत्यु, पाँच घाइते


सिन्धुपाल्चोक, २४ कात्तिक । जिल्लाको हेलम्बु ७ इचोकबाट काठमाडौँको लागि छुटेको यात्रुबाहक बस इचोकमा दुर्घटनामा परेको छ । सिन्धु हेलम्बु यातायात प्रालिको बा४ ख५८१५ नं को बस हेलम्बुको इचोकमा आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

मृत्यु हुनेमा हेलम्बु–३ पाल्चोककी ५५ वर्षीया महिला पासाङ तामाङ रहेको इलाका प्रहरी कार्यालय हेलम्बुले जानकारी दिएको छ । घाइते हुनेमा हेलम्बु ६ का अनुज तामाङ, सोही ठाउँमा पासाङ दोर्जे, साजन तामाङ, जङ्बु तामाङ, हेलम्बु ७ का आयुष पण्डित रहेको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी नायब निरीक्षक सुनिल थापाले जानकारी दिनुभयो ।

घाइतेको उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । ब्रेक फेल भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय हेलम्बुले जानकारी दिएको छ ।