जनता टाइम्स

२४ कार्तिक २०७८, बुधबार १८:२६

एमालेमा फेरि ओली नै अध्यक्ष : नेता अधिकारी


काठमाडौं, २४ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले वर्तमान सरकार असंवैधानिक बाटोतर्फ हिँडिरहेको दावी गर्नुभएको छ । आज रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अधिकारीले आफ्नो दलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो,‘एमालेले उहाँको राजीनामा पनि मागेको छैन, र महाभियोगको प्रस्ताव पनि ल्याउँदैन। यसबारेमा छलफल गर्ने अवस्था छैन् । न्यायाधीशहरुले राजनीति गर्ने, कुनै दलको भाका र भाषा बोल्ने काम गर्नुहुँदैन । न्यायालय पूर्वाग्रही हुनुहुँदैन। संविधानमा आधारित भएर चल्नुपर्छ । तर, यहाँ त परमादेश दिँदा नै सेटिङ भयो ।’

त्यस्तै उहाँले पार्टीको आगामी महाधिवेशनमार्फत अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली नै सर्वसम्मत रुपमा आउने बताउनुभयो । उहाँले भन्नुभयो,‘अब पनि अध्यक्ष त केपी ओली नै हो नि, यसमा शंका छ र ? अध्यक्षमात्रै होईन, हाम्रो सबै पदाधिकारी नेतृत्वमा सर्वसम्मत हुन्छ । म दोहोर्याएर भन्न चाहन्छु कि मूलतः नेतृत्व सबै सहमति हुन्छ ।’ पार्टीको महाधिवेशनले राष्ट्रिय राजनीतिमा ध्यान खिचेको पनि तर्क गर्नुभयो ।

अधिकारीले उपाध्यक्ष मैदानमा आउँदैमा केही फरक नपर्ने भन्दै अध्यक्षमा उठ्ने घोषणा गर्नुभएको भीम रावललाई कटाक्ष गर्नुभयो । उहाँले थप्नुभयो,‘एमाले देशको ठूलो पार्टी हो । लोकतान्त्रिककरणको च्याम्पियन हो–एमाले । हामीले गरेको काम राष्ट्रको निम्ति रोलमोडल हुनुपर्छ । मैदानमा उपाध्यक्ष अध्यक्षको लागि आउनु कुन ठूलो कुरा हो ?’ उहाँले प्रतिप्रश्न गर्नुभयो ।