जनता टाइम्स

२४ कार्तिक २०७८, बुधबार १८:४६

माधव नेपालको बहिर्गमनसँगै एमाले फर्किए चर्चित लेखक झलक सुवेदी


पोखरा, कात्तिक २४ । चर्चित लेखक तथा विश्लेषक झलक सुवेदी नेकपा एमालेको राजनीतिमा फर्किनु भएको छ । बामदेव गौतमले एमाले बिभाजन गरेसँगै करिब दुई दशकदेखि राजनीति छाडेर लेखन तथा नागरिक अभियानमा लाग्नुभएका सुवेदीले यसपटक पार्टी सदस्यता नवीकरण गर्दै पार्टीमा राजनीतिमा क्रियाशील हुन लाग्नुभएको हो ।

माधवकुमार नेपालको महासचिव पद जोगाउनकै लागि २०५४ मा एमाले बिभाजित भएपछि मालेमा लागेर राजनीतिबाट टाढा हुनुभएका सुवेदी माधव नेपाल एमालेबाट बहिर्गमन भएसँगै पुनः राजनीतिमा फर्कनु भएको हो । कास्कीका सुवेदी आज पोखरामा आयोजित नेकपा एमालेको गण्डकी प्रदेश कमिटी बैठकमा उपस्थित हुनुभयो । उहाँ कुनै कमिटीको सदस्य नभए पनि पुरानो नेता भएका कारण मञ्चमा राखिएको प्रदेश संयोजक किरण गुरुङले जानकारी दिनुभयो ।

एमाले बैठकको मञ्चमा सचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य तथा प्रदेश संयोजक किरण गुरुङका पछाडि झलक सुवेदीले आसन गर्नुभएको थियो । सुवेदीले यसपटक दशौं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि बन्ने चाहना राख्नुभएको बताइएको छ । सुवेदी गत महिना सम्पन्न एमालेको विधान महाधिवेशनमा पनि उपस्थित हुनुभएको थियो । एमाले विभाजनपछि तत्कालीन नेकपा मालेमा लाग्नुभएका सुवेदी पछिल्ला वर्षहरूमा स्वतन्त्र भूमिकामा हुनुहुन्थ्यो । उहाँ पृथ्वीनारायण क्याम्पसको पूर्वस्ववियू सभापति पनि हुनुहुन्छ ।