जनता टाइम्स

२४ कार्तिक २०७८, बुधबार १९:१७

तनहुँमा खटिँदै छन् ४९० गणक


तनहुँ, २४ कात्तिक । भोलीदेखि देशभर राष्ट्रिय जनगणनाा सुरु हुँदै छ । प्रत्येक १० वर्षमा हुने जनगणनाअन्तर्गतको मुख्य जनगणना ९ मंसिरमा सकिनेछ । तनहुँमा राष्ट्रिय जनगणनाको १२औँ शृंखलाको मुख्य गणनाको तयारी पूरा भएको छ । जिल्लामा ४९० गणक जनगणनाका निम्ति हरेक घरदैलोमा पुग्ने जिल्ला जनगणना अधिकारी नन्दलाल सापकोटाले बताउनुभयो ।

उहाँका अनुसार संस्थागत घरपरिवारको गणना गर्न छ जना खटिनेछन् । ‘गणकलाई तालिम र सम्पूर्ण सामग्री दिएर पठाएका छौँ । उनीहरू गणनाका लागि तम्तयार छन्’, उहाँले भन्नुभयो । एक जना गणकले औसतमा २०० घरमा पुगेर जनगणना फारम भर्नेछन् । ‘फारम भर्नलाई ५२ वटा मुख्य प्रश्न सोधिनेछ’, उहाँले भन्नुभयो । गणनाका लागि २० मिनेट समय लाग्ने जनाइएको छ ।

जनगणनाको पहिलो चरणअन्तर्गत ३० भदौदेखि १८ असोजसम्म घर सूचीकरण गरिएको थियो । घर सूचीकरण गर्न तनहुँमा १२० जना सुपरिवेक्षक खटिएका थिए । सुपरिवेक्षकले जिल्लाका ९१ हजार घर सूचीकरण गरेका छन् । पछिल्लो १० वर्षको अवधिमा यहाँ झण्डै १३ हजार घर थपिएको प्रारिम्भक तथ्यांकले देखाउँछ ।

२०६८ सालको जनगणनामा जिल्लामा ७८ हजार ३०९ घर सूचीकरण गरिएको थियो । उक्त जनगणनाअनुसार तनहुँमा तीन लाख २३ हजार २८८ जनसंख्या छ । जिल्लाका पाँच स्थानमा स्थानीय जनगणनाको कार्यालय स्थापना गरिएको छ । दुलेगौँडा, भिमाद, दमौली, डुम्रे र आँबुखैरेनीमा स्थानीय जनगणनाको कार्यालय स्थापना गरिएको हो ।