जनता टाइम्स

२५ कार्तिक २०७८, बिहीबार ०९:४०

नेकपा एमाले बेलकोटगढी नगर कमिटीको अध्यक्षमा रूपा सापकोटा सर्वसम्मत चयन


काठमाडौं, २५ कार्तिक । नेकपा एमालेको बेलकोगढी नगर कमिटीको अध्यक्षमा रूपा सापकोटा निर्वाचित हुनुभएको छ । सापकोटा अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो । अध्यक्षमा आकांक्षा गरेका सबै उम्मेदवारलाई पछि पार्दै सापकोटाले अध्यक्षमा बाजी मार्नुभएको हो । उहाँ गत स्थानीय निर्वाचनमा उपमेयरमा झिनो मतान्तरमा पराजित हुनुभएको थियो । उपाध्यक्षमा भोजप्रसाद पुडासैनी र पशुपति लोहनी चयन हुनुभएको छ। पुडासैनी वडा नम्बर ८ का निर्वाचित अध्यक्ष र लोहनी वडा नम्बर १३ का वडा अध्यक्ष हुन । त्यस्तै सचिवमा अनन्तराम नेपाल निर्वाचित हुनुभएको छ । नेपाल वडा नम्बर ६ का निर्वाचित वडा अध्यक्ष समेत हुनुहुन्छ ।

उपसचिवमा नारायण खनाल, बासुदेव गजुरेल, सरस्वती उप्रेती, जयन्ती तामाङ र गेहेन्द्रबहादुर न्यौपाने निर्वाचित हुनुभएको छ। दुई जना निर्वाचित हुनुपर्ने उपसचिवमा थप तीन जना निर्वाचित भएको घोषणा गरिएको छ । कुल पाँच जना पदाधिकारी हुनुपर्नेमा बेलकोटगढीमा ९ जनालाई पदाधिकारीमा निर्वाचित गरिएको घोषणा गरिएको छ ।

एमाले विधान भन्दा बाहिर गएर नेताहरूले सहमतिका नाममा आफूखुशी निकटका कार्यकर्तालाई पदाधिकारी बनाउन यस्तो गरेको भन्दै कतिपय पदाधिकारीले असहमति पनि जनाएका छन ।१२ पालिका रहेको नुवाकोटमा १२ माध्ये ११ पालिकामा सम्पन्न भएको अधिवेशनमा लिखु र बेलकोटगढीको नेतृत्वमा महिला नेतृ चुनिएका छन । यसअघि लिखु गाउँकमिटीको अध्यक्षमा दुर्गा पुडासैनी चयन हुनुभएको छ । गाउँ संगठन कमिटीका पदाधिकारीलाई बाइबास परेर मञ्चको अध्यक्षता र सञ्चालनको काम जिल्ला कमिटीका उपसचिव र सदस्यले गर्नुभएको छ। अधिवेशनको उद्घाटन सत्रको अध्यक्षता उपसचिव विष्णु लोहनी र सञ्चालन जिल्ला कमिटीका सदस्य नारायण बस्नेतले गर्नुभएको थियो ।