जनता टाइम्स

२५ कार्तिक २०७८, बिहीबार १८:०२

मानवसेवा आश्रममा निःशुल्क सेवा गर्ने नर्स


बागलुङ, २५ कात्तिक । बागलुङ नगरपालिका–६ निवासी पुजन आचार्य हरेक दिन बिहान बेलुकी र सार्वजनिक बिदाको दिन मानवसेवा आश्रममा भेटिनुहुन्छ । धौलागिरी अस्पताल बागलुङमा अहेबको रुपमा कार्यरत २० वर्षीया आचार्यले व्यक्तिगत जीवनलाई त्यागेर मानव सेवामा सर्मपित हुनुभएको हो । मानव सेवाले ओतप्रोत भएर आचार्य युवा अवस्थाको व्यक्तिगत रुचि बेवास्ता गर्दै आश्रमका रहेका ज्येष्ठ नागरिक, शारीरिक तथा मानसिक रुपमा बिछिप्त नागरिकको सेवामा लाग्नुभएको हो ।

उहाँ डेढ बर्षदेखि मानव सेवा आग्रहको मेडिकल वार्डमा निःशुल्क सेवा गर्दै आएको आश्रमका अभिभावक सुमिरा लामाले जानकारी दिनुभयो । पहिलो पटक मानव सेवा आश्रमको मेडिकल वार्डमा प्रवेश गर्दा दुई महिना मासिक तलब २० हजार पारिश्रमिक लिए पनि त्यसपछि बेतलवी सेवा गर्दै आएको लामाले बताउनुभयो । आश्रममा बसेर काम गर्दा यहाँको आर्थिक अवस्था, आर्थिक स्रोत र व्यवस्थापनबारे जानकारी पाएपछि निःशुल्क सेवा गर्ने भावना विकास भएको आचार्यले बताउनुभयो ।

‘आश्रम दानबाट सञ्चालन भएको छन्’ उहाँले भन्नुभयो, ‘सबैले गाँस काटेर आश्रितको भोको पेट भर्ना दिएको रकमबाट तलब लिन मनले मानेन ।’ आचार्यले ६ महिनादेखि करारमा धौलागिरी अस्पतालका काम गरेकी छिन् । घरको जेठी छोरी आचार्यलाई परिवारका सदस्यले पनि मानव सेवाको लागि प्रोत्साहन दिइरहेका छन् । ‘सुरूसुरूमा आमाबाबाले व्यक्तित्व बनाउने विषयमा जोड दिएका थिए’ आचार्यले भन्नुभयो, ‘अहिले सबैले घर हामी सम्हाल्छौँ, तिमी सेवामा लाग्नु भन्नुभएको छ ।’

परिवारका सदस्यको हौसालले सेवामा थप उत्साही दिएको उहाँको भनाइ छ । आफुले सक्ने बेलासम्म निःशुल्क सेवा गर्ने आचार्यले बताउनुभयो । आश्रमका रहेका अधिकांस ज्येष्ठ नागरिकमा मानसिक तथा दीर्घ रोगको समस्या छ । उहाँहरुको नियमित स्वास्थ्य परीक्षण, नियमित औषधी खुवाउने तथा थप विशेषज्ञा डाक्टरसँग उपचार गर्नुपर्ने अवस्थामा अस्पतालसम्म लैजाने काम गर्दै आएको आचार्यले बताउनुभयो ।

आश्रमका अभिभावकले सडकबाट मानसिक रुपमा विछिप्त नागरिक उठाएर ल्याए पछि उनीहरुको मानसिक स्वास्थ्यको जिम्मेवारी आचार्यले लिने गर्नुभएको छ । धौलागिरी अस्पताल तथा काठमाडौंका अस्पतालका कार्यरत मानसिक रोग विशेषज्ञा डाक्टरलाई भेटेर वा बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी दिएर विज्ञको सल्लाह अनुसार औषधि चलाउने गरेको उहाँले बताउनुभयो ।

आश्रममा रहेका ४९ जनामध्ये ३२ जनाले मानसिक रोग र चार जनाले उच्चरक्त चाप र सुगरको औषधि सेवन गर्दै आउनुभएको छ । मानसिक रोग र दीर्घ रोगको औषधि खरिदमा मासिक २२ हजार रुपैयाँ खर्च हुने आचार्यको भनाइ छ । बागलुङको आश्रममा देशका विभिन्न जिल्ला, छिमेकी देश भारत र बंगलादेशी नागरिक समेत आश्रित छन् । उहाँहरू सबैको निःशुल्क भोजन तथा औषधि उपचार मानव सेवा आश्रमले गर्दै आएको छ ।